यौन दुराचारीका लागि नेपालको गन्तव्य !

केही महिनाअघि नेपाल प्रहरीका नायव उपरीक्षक कबित कटुवाल भक्तपुरस्थित काठमाडौं । भ्याली फन पार्क पुगेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत कटुवाल त्यो सप्ताहान्त परिवारसँग थिए । तर, उनका तीक्ष्ण आँखा एक्कासि एक विदेशीमाथि परे ।

दुई बालक र चार बालिकासँग रमाइरहेका ती विदेशी पुरुषको हाउभाउ तथा क्रियाकलाप उनलाई अस्वाभाविक लाग्यो । बालबालिकालाई सुम्सुम्याउने उनको शैली भिन्न देखिन्थ्यो । लामो समय प्रहरीमा बिताएको र पेसाले अनुसन्धान अधिकृत भएकाले होला केही समय नियालेपछि कटुवालले उक्त विदेशीको तस्बिर आफ्नो मोबाइल फोनको क्यामेराले खिचे । त्यसपछि पनि उनका आँखाले विश्राम लिएनन् ।

भोलिपल्ट कार्यालय पुगेपछि उक्त घटनाबारे कटुवालले अन्य प्रहरी अधिकारीसँग छलफल गरे । र, उक्त विदेशीमाथि निगरानी गर्ने निष्कर्षमा पुगे । उनले आफूले खिचेका ती विदेशीको तस्बिर प्रहरी जवान र खबरीहरूलाई उपलब्ध गराए ।

केही दिनपछि तिनै विदेशी नागरिक काठमाडौंको ठमेलमा घुमिरहेको भेटिए । ठमेल सातघुम्तीस्थित एक होटेलमा बसेका उनको निगरानी प्रहरीले बढायो । नेदरल्यान्डसका नागरिक रहेका उनीबारे अन्य जानकारी प्राप्त गर्ने काम पनि अघि बढायो प्रहरीले ।

ती व्यक्तिका साथ सधैँजसो एकजना बालक देखिन्थे । उनी बसेको होटेलमा हरेक दिनजसो बिहान साढे आठ बजे तिनै बालक आइपुग्थे र प्रायजसो रातको साढे ११ बजे निस्कन्थे । दिउँसो कतै निस्किएसँगै लिएर हिँड्थे । काठमाडौं भ्याली फन पार्कमै शंकास्पद गतिविधि गरेको पाइएका उक्त विदेशीको दिनचर्या झनै शंकास्पद देखिँदै गयो ।

महिनौँसम्म चलेको प्रहरीको अनुसन्धानका आधारमा प्रहरीले उनलाई बालयौन दुराचारी रहेको ठहर ग¥यो र अन्ततः २०७५ जेठमा उक्त होटलको कोठाबाट नेपाली बालकसँगै रहेका बेला पक्राउ गर्यो ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नेपालमा बाल यौन दुराचारसम्बन्धी घटनाहरू बाहिरिने क्रम बढ्दो अवस्थामा छ । पछिल्ला तीन वर्षमा १० जना व्यक्ति पक्राउ परेका छन् जसमध्ये नौ जना विदेशी छन् । अमेरिका, जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, क्यानडा र फ्रान्स जस्ता मुलुकका नागरिकले हालका दिनमा काठमाडौंको सुन्धारा र नख्खुस्थित कारागारमा उक्त अभियोगको सजाय भोगिरहेका छन् । पक्राउ परेका नौ विदेशीमध्ये ६ जना ६० वर्षभन्दा बढी उमेर समूहका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीका अनुसार पछिल्ला तीन वर्षमा १० वटा घटना सार्वजनिक भएता पनि नेपालमा बाल यौन दुराचारका घटना उक्त आँकडाभन्दा कम्तीमा तीन गुणा बढी रहेको हुन सक्छ । विभिन्न कारणवश त्यस प्रकृतिका घटनाहरू बाहिर आउन नसकेको र स्रोत साधनको अभावका कारण अनुसन्धान पनि आवश्यकताअनुरूप हुन नसकेको उनले स्वीकार गरे ।

‘सामाजिक प्रतिष्ठासँग जोडिने हुँदा धेरैजसो मानिस यस्ता घटनालाई गुपचुप राख्न चाहने गरेको पाइन्छ,’ चतुर्वेदीले भने । ‘कतिपय सामाजिक संस्थाहरूले आफ्नो संस्थामा आउने सहायता रोकिएला भन्ने डरका कारणसमेत त्यस्ता घटना दबाउने गरेको पाइन्छ ।’
यसै हप्ता बाल यौन दुराचार आरोपमा क्यानेडियन प्रहरीले क्यानेडियन नागरिकलाई नेपालको एक बाल आश्रममा रहेका पाँच नेपाली बालकमाथि यौन शोषण गरेको आरोपमा पक्राउ गरेपछि यो विषय फेरि एकपटक चर्चामा छ ।

नेपाल मात्र नभएर विश्वका थुप्रै अन्य विकासोन्मुख देशमा बाल यौन दुराचारको समस्या रहेको जानकारहरू बताउँछन् । नेपाललगायत अन्य त्यस्ता मुलुकमा जीवनयापन गर्न सस्तो पर्ने र प्राविधिकरूपमा पनि यस्ता मुलुक पछि रहेका कारण प्रहरी प्रशासनले आफ्ना गतिविधि सहजै पत्ता लगाउन नसक्ने हुँदा दुराचारीको रोजाइमा पर्ने गरेको पाइने उनीहरूको बुझाइ छ ।

‘अतिथि देवो भवः अर्थात् अतिथि देवता समान हुन्छन् भन्ने नेपाली संस्कार र विदेशी भन्नेबित्तिकै भगवान् मान्ने परिपाटीका कारण पनि नेपाल बाल यौन दुराचारीका लागि राम्रो गन्तव्य बन्न पुगेको छ,’ चतुर्वेदीले भने । ‘विदेशीले गरेको भन्नेबित्तिकै हाम्रोमा जे पनि राम्रो हुन्छ वा उनीहरूले जे गरे पनि ठिक भन्ने मान्यता व्याप्त छ ।’ अर्को महत्वपूर्ण पाटो भनेको नेपालीहरूको कमजोर आर्थिक अवस्था रहेको जानकारहरूको जिकिर छ ।

प्रहरी अनुसन्धानका अनुसार अधिकांश त्यस्ता घटनामा दोषी पाइएकाहरूले पीडित तथा उनका परिवारलाई आर्थिक प्रलोभनमा पार्ने, आम नेपालीले सहजै पूरा गर्न नसक्ने खाले आवश्यकता पूरा गरिदिने र कतिपय अवस्थामा विदेशसमेत घुमाउने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

पश्चिमा र अन्य विभिन्न मुलुकका विद्यालयको पाठ्यक्रममै यौन शिक्षा समावेश गरिने गरेको प्रहरी अधिकारीहरूको दाबी छ । त्यसैकारण त्यहाँका विद्यार्थीलाई कहाँ–कहाँ छुनुहुन्छ, कहाँ हुँदैन भन्ने सानैदेखि सिकाइएको हुन्छ । नचिनेको मान्छेसँग बोल्न हुन्छ, हुँदैन भन्ने पनि पनि उनीहरूलाई बच्चाबाटै सिकाइएको हुन्छ । तर, नेपालमा त्यस प्रकारको शिक्षा दिने त परै जाओस् परिवारका सदस्यले सामान्य जानकारीसमेत दिने गर्दैनन् । यौन शिक्षाका बारेमा कुरा गर्दा बालबालिका बिग्रन्छन् भन्ने मान्यताका कारण पनि उनीहरूसँग त्यस विषयमा कुरा गरिँदैन । ‘तर, नेपाली समाजमा अतिथिलाई देउता मान्ने संस्कार छ,’ चतुर्वेदीले दोहोर्याए ।

नेपालीहरूले अतिथि देवो भवः भनेअनुसार नेपाल आउने विदेशीहरूको सोचाइ नबन्दा पनि नेपाली बालबालिकाले दुःख पाउने र उनीहरूको गलत सोचाइले स्थान पाउने गरेको कतिको ठम्याइ छ । नेपालीहरूले गरेको मानमा उनीहरू बस्ने हो भने यहाँका बालबालिकाले दुःख पाउन नपर्ने प्रहरीको धारणा रहेको छ ।

झट्ट हेर्दा यस्ता घटना संगठितरूपमा घट्ने नदेखिएता पनि कैयौँ अपराध घटनाका यथार्थ भने भिन्न छ । विभिन्न किसिमका सञ्जालहरूमार्फत बाल यौन दुराचारमा संलग्नहरू जोडिएका हुन्छन् । नर्थ अमेरिका म्यानरबोई लभ असोसियसन र पेडोफाइल इन्फरमेसन एक्सचेन्ज जस्ता विभिन्न किसिमका संघ र समूह एक प्रमुख माध्यममध्ये रहेको कटुवाल बताउँछन् ।

त्यसबाहेक विभिन्न किसिमका नेटवर्कको प्रयोग गरेर बालबालिकाको अश्लील तस्बिर र भिडियोसमेत एक अर्कासँग आदनप्रदान गर्ने गरेको जानकारहरू बताउँछन् । प्रहरीले पक्राउ गरेका अधिकांश विदेशी प्राविधिक रूपमा सबल हुने हुँदा उनीहरूले इन्टरनेटको प्रयोगद्वारा हुने यस्ता गतिविधि सहजै पहिचान गर्न नसकिने पनि कटुवालले जानकारी दिए ।

गन्तव्य लगायतका कुरामा संगठित रहेर काम गरे पनि यौनजन्य कार्यमा संलग्न हुन बालबालिका खोज्ने र उनीहरूलाई आपूmप्रति आकर्षित गर्ने काम भने आ–आफ्नै हिसाबले हुने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ ।

बयान लिने क्रममा पक्राउ परेका अधिकांशको मानसिक अवस्था आम मानिसभन्दा फरक हुने गरेको पाइएको प्रहरीले बताएको छ । गहिरो मानसिक समस्या रहेको र वैवाहिक सम्बन्ध टुटेकाहरू प्रायः यस्ता किसिमका घटनामा संलग्न हुने गरेको उनीहरूको अनुभव छ ।

‘पक्राउ परेका ती नेदरल्यान्ड्सका व्यक्तिकै कुरा गर्ने हो भने आफूलाई एक शिक्षकले बाल्यकालमै यौनजन्य क्रियाकलाप जबरजस्ती गरेको र त्यसैको बदलास्वरूप हालका दिनमा बाल यौन दुराचारमा संलग्न हुन पुगेको बयान दिएका थिए,’ कटुवालले बताए । पीडित बालबालिकामा पनि असामान्य चरित्र देखिने गरेको उनी बताउँछन् ।

सुरुआतमा बालबालिकालाई त्यस्ता किसिमका यौनजन्य गतिविधि पश्चिमा मुलुकमा सामान्य रहेको भनेर फकाइफुलाइ गर्ने गरिन्छ र शारीरिक यातना कम हुने खाले क्रियाकलाप गरिन्छ । चरम पीडा हुने अवस्थामा पुग्दासम्ममा बालबालिकाहरू प्रायः असहाय भइसक्ने अधिकारीहरू बताउँछन् ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी अंग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ । निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमासमेत यौन दुराचार मानिने उक्त ऐनले बताएको छ ।

बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालकको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । साथै कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनाशिव क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्थासमेत गरेको छ ।

तर, प्रहरी अधिकारीका कुरा मान्ने हो भने नेपालमा यौन दुराचारको सजाय अन्यत्रभन्दा कम छ । यौन दुराचारीले नेपाल रोज्नुको कारण पनि त्यही भएको उनीहरू बताउँछन् । कारबाही कडा बनाए त्यसमा कमी आउन सक्ने उनीहरूको दाबी छ । बाल यौन दुराचारका घटनाहरू कम गर्न र त्यस्ता घटनाबारे थाहा पाउन सरकारले सिविन नेपाल जस्ता संस्थासँग सहकार्य गरेर बाल हेल्पलाइन (१०९८) स्थापना गरेको छ ।

त्यसबाहेक समुदाय प्रहरी साझेदारीमार्फत पनि यस्ता किसिमका घटनाबारे जनचेतना बढाउने काम भइरहेको जानकारी कटुवालले दिए । ‘यस्ता किसिमका घटना गुपचुप रूपमा हुने हुँदा जनचेतनानै प्रमुख चिज हो,’ उनले भने । सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानका अनुसार बाल यौन दुराचार संगठित अपराध भएको र यस्ता किसिमका कार्यमा हिंसाभन्दा पनि प्रलोभनको प्रयोग हुने हुँदा समयमै घटनाबारे थाहा हुन ढिला हुने बताउँछन् ।

बालबालिकासम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाले स्वयंसेवक वा दाताको रूपमा आउने त्यस्ता विदेशी नागरिकको विगतबारे जानकारी नराख्दा त्यस्ता घटना बढ्दो क्रममा रहेको बताइन्छ । कतिपय अवस्थामा आफ्नो संस्थामा आउने सहायता रोकिने डरले त्यस्ता घटनाबारे थाहा पाउँदा पनि लुकाउने गरेको पनि ठानिन्छ ।

‘बाल यौन दुराचारको कार्यमा संलग्न हुने व्यक्तिहरूले त्यसैकारण कमजोर आर्थिक अवस्था रहेको संस्था र परिवारको खोजी गरेर आउने गर्छन्’ प्रधानले भने । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया