दैनिक चार घण्टा सडक अवरुद्ध

धादिङ । निर्माण सम्झौताको समय सकिएपछि ठेकेदार कम्पनीले सडक चौडा बनाउन दैनिक चार घण्टा सडक अवरुद्ध गर्ने सूचना प्रकाशित गरेको छ । धादिङबेँसी आरुघाट सडकखण्डको गोलाभञ्ज्याङदेखि टारीबेँसीसम्मको सडक आजबाट दैनिक चार घण्टा बन्द गरिएको हो ।

धादिङबेँसी आरुघाट सडकखण्डअन्तर्गत नीलकण्ठ नगरपालिका १० गोलाभञ्ज्याङदेखि टारीबेँसीसम्म सडक चौडा गर्नका लागि दैनिक चार घण्टा बन्द गरिएको धादिङबेँसी, आरुघाट, गोरखा सडक आयोजना एवं लामा कन्सट्रक्सनले सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।

आजदेखि सुरु भएको सडक चौडा गर्ने काम माघ २८ गतेसम्म चल्नेछ । तबसम्म हरेक दिन मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्ड बन्द रहने छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७३ पुस १४ मा सडक निर्माण सम्झौता भएको थियो । निर्माणाधीन यस सडकखण्डमा ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका कारण सडक अस्तव्यस्त बनेको छ ।

आगामी असार मसान्तसम्ममा काम सम्पन्न गर्ने कार्य पुनः सुरु गरिएको छ । सर्वसाधारणको सुविधाका लागि निर्माण भइरहेको सडक समयमै निर्माण हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदै आइरहेको छ । कूल रु ७० करोड ११ लाख ७३ हजारमा काम सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्सनले कालोपत्र गर्ने जिम्मेवारी लिएको थियो ।

सडकको निर्माण सम्पन्न भए जिल्लाको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामान लैजान र त्यस क्षेत्रको कृषिउपज बिक्रीका लागि सदरमुकामसम्म ल्याउनसमेत सजिलो हुनेछ । यस सडकमा हालका दिनमा दैनिक पाँच सयको हाराहारीमा सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया