सिक्सर्स ६ विकेटले पराजित

एजेन्सी, ढाका । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेटमा चौथो हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा ढाका डाइनामाइट्ससंग ६ विकेटले पराजित हुँदै सिक्सर्सले चौथो हार व्यहोरेको हो । सिक्सर्सले दिएको १५९ रनको लक्ष्य डाइनामाइट्सले १७ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । डाइनामाइट्सका लागि शकिब अल हसनले ६१ रनको अर्धशतकीय इनिङस खेले । यस्तै आन्द्रे रुसेलले अविजित ४० रन जोडे ।

सिक्सर्सका मोहमद इरफानले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएर २७ रन खर्चिए । यसअघि, टस जितेर ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । सिक्सर्सका लागि कप्तान डेभिड वार्नरले ६३ रनको अर्धशतकीय इनिङस खेले । यस्तै, लिटोन दासले २७ तथा जकार अलीले २५ रन जोडे ।

सन्दीप लामिछाने सुन्य रनमा अविजित रहे । डाइनामाइटसका एन्ड्रयु बिर्चले ३ विकेट लिए । यो हारसँगै सन्दीपको टिम सिक्सर्सको प्ले अफ यात्रा कठिन बनेको छ । छैटौं स्थानको सिक्सर्सले ६ खेलमा ४ अंक जोडेको छ । डाइनामाइट्सले ६ खेलबाट १० अंक जोडेको छ । डाइनामाइट्स शीर्ष स्थानमा छ ।

प्रतिक्रिया