कविता – ए भ्रष्टाचारका मतियारहरू !

बलराम तिमल्सिना

ए भ्रष्टाचारका मतियारहरू !
साम्राज्यवादका हतियारहरू !!
यो अन्तिम दिन तिम्रो हो,
भोलिको दिन त तिम्रो मृत्यु हो !

जति खानु छ आजै बेस्सरी खाऊ !
सक्छौ सातपुस्तालाई पुग्ने कमाऊ !
भाइभतिजा, सालासाली,
भस्मै पोष आजै खाऊ रमाऊ !
ए भ्रष्टाचारका…!

गहिरिरहेछ हेर त तिम्रो चिहान
झुल्कन्छ पक्कै पनि हाम्रो बिहान
यो अन्तिम रात हो अन्तिम भोज हो
यो तिम्रो पुस्ताको अन्तिम मोज हो
ए भ्रष्टाचारका…!

मजदूर किसानका आँखा खुल्दै छन्
चेतनाका इन्द्रेणी रङ्ग झुल्दैछन्
तिमीले निमोठेका बिरुवाहरू
पत्थर फोरेर पनि हेर फुल्दैछन !
ए भ्रष्टाचारका…!

मैदानमा भेट हुन्छ भोलि बिहान
तिम्रो ठेगाना हुन्छ चिहान !
भन के इच्छा छ निभ्नु अगाडि ?
कि आजै भाग यो उत्सव छाडी !
ए भ्रष्टाचारका…!

प्रतिक्रिया