कराँतेकी एक्ली जमुना

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमै खेल जगतमा चिनिएको नाम हो जमुना बस्नेत । सितोरियो करातेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रुपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो ।

विसं २०४८ देखि करातेमा होमिएकी बस्नेतले गाउँ बस्तीमा खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् । “हामीले खेल्दा महिला घरबाट बाहिर जानै हुँदैन भन्ने मानसिकता थियो,” बस्नेतले आफूले खेल्दाको विगत सम्झिँदै भनिन्, “अहिले खेलजगत्मा धेरै परिर्वतन आएकाले सहज भएको छ ।

सितोरियो कराँतेकी स्थायी प्रशिक्षक बस्नतेले २०५० सालदेखि निरन्तर रुपमा शुक्लाफाँटा नगरपालिका १० झलारी बजारस्थित खेल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आएकी छन् । झलारीकै कराँते प्रशिक्षक दानबहादुर खातीबाट उनले कराँतेको प्रशिक्षण लिएकी हुन् । उनले २०५८ सालसम्म थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जितिन् ।

“खेल्न थालेको महीना दिनमै धनगढीमा सम्पन्न आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जितेँ,” बस्नेतले भनिन्, “ विसं २०५१ मा करारमा प्रशिक्षक नियुक्त भएसँगै खेल्ने र खेलाउने दुवै काम गरेँ । उनकै सिको गरेरै सुदूरपश्चिममा धेरै महिला खेल कराँते खेल्न थालेका हुन् ।

झलारी बजार छेउमै रहेको सुनवरा नदीको बगरमा उनले हाल खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएकी छन् । खेलबाट परिचय र सम्मान प्राप्त भएको उनि बताउँछिन् । “खेलकूद अनुशासनको महत्वपूर्ण कडी हो,” बस्नेतले भनिन्, “खेलमा मेहनतअनुसारको फल नपाउने कुरै आउँदैन ।

पछिल्लो समय जिल्ला खेलकूद विकास समितिको लगानीका कारण खेल मैदानमा सुधार आइरहेको छ । “द्वन्द्वकालमा ७०, ८० खेलाडी प्रशिक्षणका लागि आउँथे,” बस्नेतले भनिन्, “त्यतिचबेला विभिन्न चुनौतीका बीच ग्रामीण भेगमा बसेर खेल गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता थियो ।

बस्नेतले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिरहेका छन् । राष्ट्रपति रनिङ शिल्डमा समेत उनकै खलाडीको दबदबा रहने गरेको छ । “सेना र प्रहरीमा जागिर खानेको सङ्ख्या धेरै छ,” उनले भनिन्, “खेलेरै बाँच्न नसक्ने भएपछि धेरै खेलाडीले विकल्प खोज्न थालेका हुन् ।

हरेक दिन प्रशिक्षणमा बिताउँदै आएकी बस्नेतले खेलकूदको विकास गाउँबस्तीतर्फ केन्द्रित हुनुपर्ने बताईन् । “खेलमा लगानीको आवश्यकता छ,” उनले भनिन्, “ खेल खलेरै भविष्य बन्छ भनेर खेलाडीलाई आश्वस्त पार्नु जरुरी छ ।

कराँते प्रशिक्षक विमल खडायत बस्नेतकै कारण करातेमा महिला खेलाडी आकर्षित भएको बताउँछन् । “दुई दशकअघि कराँतेप्रति महिलाको आकर्षण कमै थियो,” उनले भनिन्, “समाज र घरपरिवारको चुनौतीको सामना गर्दै जमुना कराँतेमा समर्पित भइन् ।

बस्नेतको खेलबाट लोभिएर नै सुदूरपश्चिममा अधिकांश महिला खेलाडी करातेप्रति आकर्षित भएको कराते प्रशिक्षक कर्मबहादुर सिंह बताउँछन् । “जमुना कराँतेमा यस प्रदेशकै गौरव गर्न लायक खेलाडी तथा प्रशिक्षक हुन्,” प्रशिक्षक सिंहले भने । कञ्चनपुरमा हाल झलारीसँगै करीब दुई दर्जन सितोरियो कराँते डोजो सञ्चालित छन् । हरेक डोजोमा प्रशिक्षणका लागि आउने खेलाडीमा अधिकांश महिला छन् ।

प्रतिक्रिया