काठमाडौं । प्रदेश ४ मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङ्गे’ले चलचित्र निर्माण गर्ने भएका छन् । अनटाइटल प्रोजेक्टलाई ‘तिमी सँग’ फ्रेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रूपमा शिशिरलाई चलचित्रमा साइन गराए ।
रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने उक्त चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन् । त्यस्तै, कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली छन् । कलाकार तय भइनसके पनि चलचित्रमा विवाहपछिको दाम्पत्य जीवनको प्रेमकथा रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक राणाले यो चलचित्र ‘सोसल ड्रामा’ हुने जिकिर गरे ।
चलचित्रको प्रि–प्रोडक्सनभित्र एक गीत रेकर्ड भइसकेको छ । त्यसैगरी, स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । निर्देशक राणाले भने, ‘अहिले कलाकार चयनको काम चलिरहेको छ । विवाह पछाडिको प्रेम भएकाले फिल्ममा अलि पाको उमेरका कलाकार खोजिरहेका छौँ ।’ चैत अन्तिमबाट छायांकन जाने लक्ष्य लिएको चलचित्रको बाँकी टिम प्रेस मिट गरेर सार्वजनिक गरिने राणाले जानकारी दिए ।
प्रतिक्रिया