क्यानडाका नागरिकलाई चीनमा मृत्युदण्डको आदेश

बेइजिङ । चीनको एक अदालतले लागुऔषध कारोबारको आरोपमा एक क्यानडेली नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

यो प्रकरणले गर्दा दुई देशबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण हुने अवस्था उत्पन्न भएको छ । रोबर्ट लोइड सेलेनबर्ग नामका ती व्यक्तिलाई सन् २०१८ मा १५ वर्षको जेल सजाय सुनाइएकोमा पुनरावेदन गर्दा मृत्युदण्डको सजाय सुनाइएको हो । सोमबार चिनियाँ अदालतले सोसम्बन्धी आदेश सुनाएको थियो ।

यो आदेश क्यानडाले चिनियाँ कम्पनी हुवावेका आर्थिक मामिला प्रमुख मेङ वान्झाओलाई गएको डिसेम्बरमा गिरफ्तार गरेको बदलामा भएको हुन सक्ने अनुमान गरिएको छ । वान्झाओ क्यानडाको अदालतबाट धरौटीमा रिहा भएकी छन् । क्यानडाले चिनियाँ अदालतको नयाँ आदेशको निन्दा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रडेउले यसमा आफ्नो सरकारको गम्भीर चासो रहेको बताएका छन् । यो मामिलामा क्यानडेली नागरिकलाई जबर्जस्ती फसाउने काम भएको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई यसबारेमा सचेत गराएका छन् ।

३६ वर्षीय क्यानडेली नागरिक सेलेनबर्ग सन् २०१४ मा गिरफ्तार भएका थिए । उनलाई २ सय २७ केजी लागुऔषध चीनबाट अस्ट्रेलिया लैजान लागेको अभियोग लगाइएको थियो । नोभेम्बर २०१८ मा उनलाई १५ वर्षको जेल सजाय सुनाइएको थियो । तर, पुनरावेदन परेपछि उत्तर पूर्वी सहर डालियानमा रहेको उच्च अदालतले सोमबार उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदालतले निजका सबैखाले सम्पत्ति पनि जफत गर्न आदेश दिएको छ । फैसला सुनाउनुअघि सेलेनबर्गगले आफू लागुऔषध कारोबारी नभएको र पर्यटकको रूपमा मात्रै चीन आएको बताएका थिए ।

प्रतिक्रिया