ओजस्वी र पुस्करले जिते उपाधि

काठमाडौं । प्लानेट मल्टिमिडिया इन्टरनेसनलले राजधानीमा आयोजना गरेको प्रदेश–३ स्तरीय ‘मिस एन्ड मिस टुरिजम एन्ड कल्चर युनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुस्कर अधिकारीले हात पार्न सफल भएका छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतिस्पर्धामा अंकिता थापा तथा कोमल कुँवरले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेन्ड रनर्स अपको अवार्ड जितेका छन् ।

१८ जना प्रतिस्पर्धी सहभागी भएको उक्त प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइस अवार्ड हात पारे । प्रतियोगिताका बिजेतालाई पस्मिना रोयल नेपालले विभिन्न उपहार प्रदान गरेको थियो । त्यसैगरी, मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्षेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिइओ सगोल घले गुरुङ रहेका थिए । प्रतियोगिताको क्रममा प्रतिस्पर्धीले आइकोनिक डिजाइनर वेयरद्वारा तयार पारिएका पहिरनसमेत प्रदर्शन गरेका थिए । राष्ट्रिय नाचघरको समेत सहकार्य रहेको प्रतियोगितामा नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी एकेडेमी पार्टनरको रूपमा रहेको छ भने फेसियल हाउस मेकअप पार्टनरको रूपमा छ ।

प्रतिक्रिया