प्रियंकाको अभिनय छलाङ

काठमाडौं । प्रियंका सिंह, चलचित्र ‘गरुड पुराण’ बाट नेपाली रजतपटमा उदाएकी अभिनेत्री हुन् । नयाँ बानेश्वरकी प्रियंकाले यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । अभिनय बफिन्स ९८ को म्युजिक भिडियो अन्जानैमा…हेरेर निर्देशक सुवास कोइरालाले गरुड पुराणमा प्रियंकालाई डेब्यु गराएका हुन् ।

त्यसो त उनी त्यतिवेला टिक टक (म्युजिकल्ली) मा निकै हिट थिइन् । सैयौं टिक टक भिडियोको अभिनय हेरेपछि निर्देशक कोइरालालाई प्रियंकाले चलचित्रमा काम गर्न सक्ने खुबी रहेको भन्दै ‘गरुड पुराण’ मा खेलाएका हुन् । त्यस्तै, टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग गरेको अभिनय हरेर उनलाई ‘गरुड पुराण’ मा छानिएको निर्माण पक्षले जनाएको छ ।

प्रियंका भन्छिन्, ‘टिक टकमा अभिनय गरेको जस्तो सजिलो चलचित्रमा नहुने रहेछ । टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर, फिल्ममा क्यामेरासँगै लाइट र विभिन्न कलाकारसँग समूहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ ।’
‘गरुड पुराण’ मा उनलाई सबैजसो कलाकारले मन पराउँछन् । मुख्यतयः चलचित्रका अभिनेता कर्मा, प्रवीण खतिवडा र कामेश्वर चौरसियाले मनपराउँछन् । पहिलो चलचित्रमै आफूले तीनओटा अभिनेताको प्रेमिका भएर काम गर्न पाएकोमा निकै रमाइलो महशुस गरेको उनले सुनाइन् ।
स्वभावले कम बोल्ने र एक्लै रमाउने स्वभावकी प्रियंका यस चलचित्रमा मुखाले रूपमा प्रस्तुत भएकी छन् । चलचित्रमा उनी सबैसँग धेरै बोल्ने र निडर स्वभावकी महिलाको भूमिकामा देखिएकी छन् । आफ्नो स्वभावभन्दा फरक भूमिका यो चलचित्रमा निभाउँदाको अनुभवबारे उनले भनिन्, ‘गरुड पुराणमा ज्योतिको भूमिका निर्वाह गरेपछि मैले आफू पनि त्यो चरित्रजस्तै सबैसँग घुलमिल भएर बोल्ने र हक्की स्वभावको हुनुपर्छ भन्ने महशुस गरें । जसका कारण आजकल अलिक खुल्ने कोशिस गर्र्दैछु ।’

पहिलो चलचित्रबाट निकै आशावादी प्रियंकालाई सबै नाटकमा काम गरेका होनहार कलाकारसँग सुरुमा काम गर्दा निकै गाह्रो हुन्छ होलाजस्तो लागेको सुनाउँदै भनिन्, ‘तर, वहाँहरूसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो चलचित्रमा अभिनय गर्न निकै सहज भयो ।’ आफूलाई कर्मा, नाजिर, प्रवीण सबैले अभिनय कार्यशालाको क्रममा धेरै कुरा सिकाएको उनले बताइन् । पहिले कार्यशाला गरेर चलचित्रका बारेमा यथेष्ट जानकारी लिएपछि ‘गरुड पुराण’ मा अन्य कलाकारसँग काम गर्न निकै सजिलो भएको उनले सुनाइन् ।

व्यवस्थापन विषयमा स्नातक अध्ययन गर्दै गरेकी प्रियंका अहिले पूर्णरूपमा सिनेमामै आबद्ध भएको बताइन् । उनलाई यो बीचमा केही चलचित्रबाट काम गर्ने प्रस्ताव आएको तर, पहिला ‘गरुड पुराण’ को रिजल्ट हेर्ने र त्यसपछि अरू फिल्ममा काम गर्ने निर्णय लिएको बताइन् । आफू यही चलचित्रमा व्यस्त रहेकाले पछि अन्य चलचित्रमा अनुकूलता हेरी काम गर्ने यी नवोदित अभिनेत्रीले जनाइन् । गरुड पुराणपछि यसै क्षेत्रमा करिअर बनाउने गरी अगाडि बढ्ने उनले सुनाइन् ।

प्रतिक्रिया