पुरुषका लागि गर्भनिरोधक इन्जेक्सन

नयाँदिल्ली । अब पुरुषले परिवार नियोजनका लागि नसबन्दी गरिरहनु जरुरी नपर्ने भएको छ । एउटा इन्जेक्सनले नै पुरुषका लागि कन्ट्रासेप्टिभ (गर्भनिरोधक) को काम गर्नेछ ।

छिमेकी भारतका वैज्ञानिकले मेल कन्ट्रासेप्टिभ अर्थात् गर्भनिरोधक इन्जेक्सनको विकास गरेका हुन् । यो इन्जेक्सनको क्लिनिकल ट्रायल पनि पूरा भइसकेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को अगुवाइमा इन्जेक्सनको परीक्षण पूरा भएको हो ।

परीक्षणको रिपोर्ट स्वास्थ्य मन्त्रालयमा बुझाइसकिएको छ । चाँडै नै यो इन्जेक्सनको प्रयोग गर्नका लागि स्वीकृति मिल्ने विश्वास गरिएको छ ।

आइसिएमआरका वैज्ञानिक चिकित्सक आर एस शर्माले भनेका छन् कि यो रिभर्सिबल इन्भिसन अफ स्पर्म अन्डर गाइडेन्स (आरआइएसयुजी) हो, जुन एकप्रकारको गर्भनिरोधक इन्जेक्सन हो । हालसम्म पुरुषले गर्भनिरोध गर्नुपर्दा शल्यक्रिया (सर्जरी) विधि अपनाइन्थ्यो । अब सर्जरीको झञ्झटको अन्त्य हुने भएको छ । एउटा इन्जेक्सनले नै त्यो काम गर्नेछ । विशेष कुरा त के छ भने यो इन्जेक्सनको सफलता दर ९५ प्रतिशतभन्दा पनि बढी हुनेछ ।

एकपटक इन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्ने डा. शर्माको भनाइ छ । ‘१३ वर्षभन्दा पनि बढी समय यसले गर्भनरोधको काम गर्ने हाम्रो विश्वास छ,’ उनले भने । यो इन्जेक्सनमा प्रयोग हुने ड्रग्स आइआईटी खडगपुरका वैज्ञानिक चिकित्सक एस के गुहाले पत्ता लगाएको डा. शर्माले जानकारी दिए । यो एकप्रकारको सिन्थेटिक पोलिमर हो । सर्जरी गर्दा जुन दुईवटा नसा काटिन्थ्यो, यो नयाँ विधिमा तिनै दुई नसामा इन्जेक्सन लगाइन्छ । यही नसाबाट स्पर्मले यात्रा गर्ने गर्छ । यसमा ६० मिलिलिटरको एक डोज हुनेछ ।

डा. शर्माले भने, ‘इन्जेक्सन लगाएपछि निगेटिभ चार्ज हुन थाल्छ, अर्थात् सबै स्पर्म टुट्छ । यसले फर्टिलाइजेसन अर्थात् गर्भ रहन दिँदैन ।’ पहिला मुसा, त्यसपछि अन्य जनावरमा यो इन्जेक्सन परीक्षण गर्दै अन्त्यमा मानवमा प्रयोग गरिएको थियो ।

डा. शर्माका अनुसार सफल परीक्षण रिपोर्ट स्वास्थ्य मन्त्रालय तथा ड्रग्स कन्ट्रोलर अफ इन्डियालाई बुझाइसकिएको छ । ‘अब हामी योभन्दा एक स्टेप अघि बढेर काम गर्ने तयारीमा छौँ । यो स्टेपमा इन्जेक्सन एकपटक लगाएका पुरुषको स्पर्म पुनः एक्टिभ गर्न मिल्छ कि मिल्दैन भन्ने अध्ययन थालिसकेका छौँ,’ उनले भने, ‘यो काम पनि चाँडै नै सकिनेछ ।’

प्रतिक्रिया