सहायता कक्ष सञ्चालनले सेवाग्राहीलाई सहजता

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालन भएसँगै सेवाग्राहीलाई सहज भएको छ । नागरिक सहायता कक्षसञ्चालन भएपछि उपमहानगरपालिकाले प्रदान गर्ने सेवाहरू लीन सेवाग्राहीलाई सजिलो भएको हो ।

पहिलोपटक उपमहानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरूका लागि नागरिक सहायता कक्ष थप प्रभावकारी देखिएको छ । सेवाग्राहीले विशेषगरी शिक्षा शाखा, राजसव शाखा, व्यवसायी दर्ता, फारम भर्ने बुझाउने ठाउँको बारेमा जानकारी लिइरहेको उपमहानगरपालिकाकी सहजकर्ता सिन्धु चौधरीले बताइन् ।

यसले उपमहानगरपालिकालाई छिटोछरितो र सहजरूपमा सेवा प्रदान गर्न सहज भएको सहजकर्ता चौधरीले बताइन् । ‘सहायता कक्ष नहुँदा अन्यौलमा पर्ने, यताउती डुल्ने हुन्थ्यो भने अहिले त्यो अन्योलता हटेको छ,’ सेवाग्राही सीता चौधरीले भनिन् ।

सहायता कक्ष सञ्चालन भएदेखि आफूले खोजेको ठाउँ र व्यक्ति सजिलै भेट्न सकिएको र धेरै सजिलो भएको उनले बताइन् । यसका साथै उपमहानगरपालिकामा टोल फ्री नम्बरबाट फोन गरेर पनि गुनासाहरू टिपाउने काम पनि हुँदै आइरहेको छ ।

टोल फ्री नम्बरबाट जनताका समस्या साथै नगरपालिकामा जाँदा कर्मचारी नभेटिनेजस्ता गुनासाहरू आउने गरेका छन् । आएको गुनासो टिपोट गरी गुनासो शाखासम्म पु¥याउने काम सहायता कक्षका सहजकर्ताहरूले गर्दै आएका छन् ।

सहजकर्ताहरूले सिफारिस, चिठीसमेत लेखेर सेवाग्राहीलाई सहयोग गर्ने गरेको सहजकर्ता चौधरीको भनाइ छ । अहिले दैनिक ४० देखि ६० जनाले सहायता कक्षबाट सेवा लिने गरेको पनि सहजकर्ता चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया