यात्रु बोक्ने मोटरसाइकल कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारबाही सुरु गरेको छ । उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारबाही गरिएको हो ।

महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारबाही गरिएको जानकारी दिए ।

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारबाही गरिएको पन्तले जानकारी दिए ।

कारबाही गरिएका मोटरसाइकल चालकलाई एक हजारसम्म जरिवना गरिएको महाशाखाले जनाएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारबाही अभियान सुरु गरेको छ ।

प्रतिक्रिया