विदेशी औषधि आयातमा रोक लगाउन माग !

काठमाडौं । नेपालमै उत्पादन पर्याप्त भएका औषधिको आयातमा रोक लगाउन नेपाल औषधि उत्पादक संघले सरकारसंग माग गरेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको भन्दै यसको कार्यान्वयनको लागि यस्तो माग गरिएको संघले जनाएको हो ।

आइतबार स्वास्थ्य पत्रकार मञ्चसँग गरेको छलफल कार्यक्रममा संघले अहिले नै नेपालका लागि आवश्यक करिब ७५ प्रतिशत औषधिको भार वहन क्षमता नेपाली औषधि उद्योगसंग रहेको भन्दै त्यसको पूर्ण सदुपयोग गर्न राज्यका तर्फबाट नीतिगत निर्णय हुनुपर्ने बताएको छ ।

संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार अहिले पनि नेपालमा अहिले पनि ५२ प्रतिशत औषधिको बजार भारतीय कम्पनीले ओगटेको छ । उनले नेपाली उद्योगको औषधि ४५ प्रतिशत र अन्य देशबाट आयात हुने ३ प्रतिशत रहेको बताए ।

दाहालले सरकारले केही कदम चालिदिए मात्रै पनि ४५ प्रतिशतबाट ७५ प्रतिशतमा पुग्न सहज हुने भन्दै त्यसका लागि ध्यानाकर्षण गराएको बताए । उनले नियोजित रूपमा नेपाली औषधिहरू महंगा र कम गुणस्तरीय भन्ने भ्रम छरिएको भन्दै खण्डन गरे ।

उनले भने, ‘गुणस्तरीय नभएको भए, यतिका सरकारी निकाय छ, उसले कदम चाल्थ्यो होला, महंगोको कुरामा पनि सरकारले मूल्य तोेकेको अवस्था छ । त्यो भन्दा बढी लिन मिल्दैन, प्रतिस्पर्धाको बजारमा कसले बढी शुल्क तिरेर औषधि खान्छ । त्यसैले यो पनि वाहियात कुरा हो ।

संघका महासचिव प्रज्वलजंग पाण्डेले नेपाली कम्पनीले उत्पादन गर्ने औषधिहरू फर्माकोपिया अनुसार नै बन्ने भन्दै यसमा गुणस्तरमा शंका लिने ठाँउ नभएको बताए ।

प्रतिक्रिया