कृषिमा जापानले प्राविधिक सहायता गर्ने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि जापानी राजदुत मासामिचि साइगोले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ ।

भेटमा राजदुत मासामिचिले उच्च प्रविधिमा आधारित फलफुल तथा तरकारी खेती र अर्गानिक कृषि प्रवद्र्धनमा प्राविधिक सहायता उपलब्ध गराउन जापान तयार रहेको बताए । जवाफमा मन्त्री खनालले उक्त विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको जापान भ्रमणका क्रममा पनि छलफल भएको भन्दै थप छलफल गरेर त्यसलाई अघि बढाउन सकिने बताए ।

त्यस्तै मन्त्री खनालले बजार प्रवद्र्धन, ठूलो स्केलको फलफुल परियोजना, दीगो विकासलाई प्रत्यक्ष सहयोग पुग्ने खालका कृषिजन्य उत्पादन र यान्त्रिकरण तथा नेपाली युवा कृषकलाई कृषि तालिममा जापान पठाउने विषयमा सहयोग गर्न राजदुत मासामिचिसँग आग्रह गरेका छन् ।

यसैबीच बैदेशिक कृषि र व्यापार तथा नेपालमा लगानीको वातावरण अध्ययन गर्न जापानका सरकारी अधिकारी तथा विज्ञहरु सहितको १९ सदस्सीय टोली नेपाल आउने भएको छ । जापानको कृषि, बन तथा मत्स्य मन्त्रालयका बैदेशिक मामिलाका उपनिर्देशक ताकामी नकादाको नेतृत्वमा टोली नेपाल आउन लागेको हो । माघ ८ गते काठमाडौं आइपुग्ने टोलीले माघ १० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नार्क लगायतसँग छलफल गर्नेछ ।

प्रतिक्रिया