पत्रकारले बुझाए विधेयककाे नमुना

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ को तर्फबाट प्रदेश–१ का मुुख्य मंत्री शेरधन राइलाई आइतबार प्रदेश आमसञ्चार विधेयकको नमुना मस्यौदा हस्तान्तरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमिति आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई विधेयकको नमुना हस्तान्तरण गरेको हो । मुलुक संघीय संरचनामा गईसकेको अवस्थामा प्रदेश सरकार आफ्नो कानुन, संरचना र पूर्वाधार निर्माणमा केन्द्रीत छ ।

यस्ता अवस्थामा पत्रकारको क्षमता विकासको लागि आमसञ्चार प्रतिष्ठान स्थापनादेखि प्रदेशका सञ्चार माध्यमको प्रवद्र्धनमा समेत सघाउ पुग्ने गरी कानुन ल्याउन आग्रह गर्दै सरकारलाई कानुनको मस्यौदा नै सुझाव स्वरुप हस्तान्तरण गरिएको महासंघका प्रदेश– १ अध्यक्ष बिक्रम लुइँटेलले जानकारी दिए ।

मस्यौदा बुझ्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकार र सञ्चार माध्यमको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै भने राष्ट्रिय आमसञ्चार नीतिकै मर्मअनुसार प्रदेशमा पनि कानुन निर्माण गर्ने बताए । राईले महासंघको तर्फबाट प्राप्त भएको मस्यौदाका विषयलाई समेत समावेश गरी ऐन निर्माण हुने आश्वासन दिए ।

त्यस अवसरमा महासंघका प्रदेश महासचिव विवेक गौतमले नमुना मस्यौदाले समेटेका बिषयहरु उल्लेख गरेका थिए । यसमा केन्द्रमा मात्र मिडियाको दर्ता, नवीकरण, वर्गीकरण, विज्ञापन वितरण, पत्रकारिता प्रशिक्षणका प्रावधान प्रदेशमा ल्याउन, सरकारी विज्ञापनको भुक्तानी प्रदेश र स्थानीय तहबाटै हुने प्रस्ताव गरिएको छ ।

मस्यौदामा कन्टेन्टबाहेक अन्य विषय नियमन गर्न तथा हाल केन्द्रमा सूचना विभाग, प्रेस काउन्सि ल र संचार मन्त्रालयले गरिरहेको मिडिया वर्गीकरण, प्रशिक्षण, लोककल्याणकारी विज्ञापन वितरण, मिडिया अभिलेखीकरण र लाइसेन्स वितरण जस्ता कामको लागि प्रदेशस्तरमा स्वतन्त्र र स्वायत्त खालको प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने प्रस्ताव छ । यसैगरी पत्रिका, रेडियो, टिभी, अनलाइनलगायत सबैखाले आमसञ्चार माध्यम संचालन र नियमनलगायत विषय मस्यौदाले समेटेको छ ।

प्रतिक्रिया