अयोध्या मुद्दाको पेसी फेरि सर्यो

एजेन्सी, नयाँदिल्ली । भारतको सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक इजलासवाट एक न्यायाधीश बाहिरिएपछि फेरि अर्कोपटक अयोध्या मामिलाको सुनुवाइमा ढिलाइ हुने भएको छ । सर्वोेच्च अदालतका न्यायाधीश युयू ललितले यो मुद्दामा आफू वकिल हुँदा पैरवी गरेको भन्दै संवैधानिक इजलासबाट बाहिरिएका हुन् ।

अब सर्वोच्च अदालतको अर्को संवैधानिक इजलासले बाबरी मस्जिद मुद्दाको सुनुवाइ जनवरी २९ मा गर्ने भएको छ । इजलासलाई प्रधानन्यायाधीश रन्जन गोगोइले नेतृत्व गर्दै छन् र बाँकी सुनुवाइको मितिसमेत उनले नै तोक्ने जनाइएको छ । उक्त इजलासमा न्यायाधीश सअ बोधे, न्यायाधीश एनभी रामाना, न्यायाधीश डिवाई र चन्द्रउद रहेका छन् ।

विगत ६ दशकदेखि भारतको राजनीतिक इतिहासमा निकै विवादित यो मुद्दाको सुनुवाइको मिति सरिँदै आएको छ । यो मुद्दामा अहिलेसम्मका कुनै पनि इजलासले जोखिम लिन नसकेकाले यो मुद्दा यति लामो समयसम्म चलिरहेको बताइएको छ ।

भारतीय जनता पार्टी र अन्य दक्षिणपन्थी समूहहरू लोक सभाको चुनाव हुनुपूर्व नै कुनै विशेष आदेश आउने अपेक्षा गरिरहेका छन् । गतवर्ष सर्वोच्च अदालतले यो मुद्दामा प्रारम्भिक सुनुवाइ गर्न इन्कार गरेको थियो । भाजपाको लागि सुरुआती सुनुवाइ हुनु भनेको राजनीतिक रूपमा राम्रो मानिएको छ ।

विगत दुई वर्षदेखि भाजपा उत्तर प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ र मुख्यमन्त्री योगी आदित्यनाथ कट्टर हिन्दू मानिन्छन् । बहुसंख्यक हिन्दूहरू राम मन्दिर जतिसक्दो चाँडो बन्नुपर्नेमा जोड दिइरहेका छन् । यो मुद्दाले सन् २०१९ भरि नै भारतको राजनीति र आउँदै गरेको लोकसभा निर्वाचनलाई निकै नै प्रभावित पार्ने देखिएको छ ।

प्रतिक्रिया