सिरियाबाट सबै सैनिक फिर्ता हुँदैनन्ः बोल्टन

जेरुसलेम । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता सुरु भएको बताएका छन् । उनले अमेरिकी सैनिक फिर्तीअघि सहयोगी मुलुकहरूको चासोलाई अमेरिकाले सुनिश्चित गर्ने स्पष्ट गरे ।

इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक फिर्तीमा ढिलाइ हुने संकेत दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बर १९ मा सिरियामा तैनाथ २ हजार अमेरिकी सैनिक तत्कालै फिर्ता हुने घोषणा गरेका थिए । अमेरिकी घोषणापछि सिरिया द्वन्द्वमा रहेका अमेरिकी गठबन्धनका मुलुकहरूले चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पको उक्त घोषणासँगै त्यसप्रति असहमति जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिइसकेका छन् ।

चौतर्फी विरोधपछि ट्रम्प आफैँले निश्चित समयावधिमा आफ्ना सैनिकहरू विस्तारै अमेरिका फिर्ता हुने बताएका छन् । राष्ट्रपतिका सुरक्षा सल्लाहकार बोल्टनले सैनिक फिर्ता हुनुअघि कतिपय सर्तमाथि विचार गरिने बताए ।

‘हामीले राष्ट्रपतिको निर्णयमाथि छलफल गरिरहेका छौँ । उत्तरपूर्वी सिरियामा आइएस पराजित भइसकेकाले त्यहाँबाट सैनिक फिर्ता हुन सक्छन् । यहाँ अब आइएसबाट कुनै खतरा छैन,’ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँगको भेटमा बोल्टनले भने ।

‘इजरायल र हाम्रा अरू मित्रराष्ट्रहरूको सुरक्षाको भरपर्दो स्थिति बन्नु पर्दछ । साथै, आइएस र अरू आतङ्कवादी समूहसँग हामीसँगै लडेकाहरूलाई हामीले विशेष ध्यान दिनु आवश्यक छ ।’

इजरायलले मुख्य रूपमा अमेरिकी सैनिक फिर्तीबारे गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । इरान समर्थित लडाकुहरूले सिरियाको बाटो हुँदै इजरायलमाथि आक्रमण गर्ने खतरा रहेको इजरायलको भनाइ छ ।

प्रधानमन्त्री नेतान्याहूले सिरियामा रहेका इरानी लडाकुहरू विरुद्धको कारबाहीलाई निरन्तरता दिइने बताएका छन् ।

इजरायलले सिरियामा रहेका इरानी सैनिक पोस्टलाई लक्षित गरी सयौँ हवाई हमला गरेको छ । सिरियामा रहेका हेजबोल्लाह समूहलाई तेहरानले आधुनिक हातहतियारसहित आर्थिक, प्राविधिक र राजनीतिक मद्दत गरिरहेको बताइन्छ ।

एनबिसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले कुर्दिस गठबन्धनको सुरक्षालाई प्रत्याभूति नगरी अमेरिकी सैनिक फिर्ता नहुने बताएका छन् । उनले सबै २ हजार अमेरिकी सैनिक तत्काल फिर्ता नहुने पनि स्पष्ट गरे ।

उनले उत्तरपूर्वी सिरियामा तैनाथ अमेरिकी सेना पहिलो चरणमा फिर्ता हुने बताए । सिरियाको दक्षिणस्थित अल–तान्फ सैन्य अखडामा रहेका केही सैनिक तत्काल फिर्ता नहुने उनले स्पष्ट गरे ।

प्रतिक्रिया