उनीहरूले भित्रभित्रै माओवादी नेतृत्वसित साँठगाँठ गरेर काम गरिरहेका थिए । पार्टीका सबै गतिविधिबारे माओवादी नेतृत्वलाई रिपोर्ट गरिरहन्थे । रोल्पा वा अन्य कतिपय स्थानहरूमा गएर उनीहरूले माओवादीको केन्द्रसित सम्पर्क गरेको कुरा पनि पछि थाहा भयो
छैठौँ महाधिवेशनपछि एकताकेन्द्रसँग हाम्रो पार्टीले पार्टी एकता गरेको थियो र हाम्रो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र–मसाल) रहेको थियो । पाँचौ महाधिवेशन पछिको विवादका क्रममा निस्कासित भएका साथीहरूसित पार्टी एकताका लागि करिब चार वर्षसम्म वार्ता चलेको थियो ।
कैयौँ महत्वपूर्ण विषयहरूमा उनीहरूसित हाम्रो सहमति हुन सकेको थिएन । मतभेदका विषयमा पार्टीभित्र छलफल चलाउँदै र महाधिवेशनमा गएर टुंग्याउने गरी पार्टी एकता भएको थियो । पछि ती मतभेदहरूलाई खुलारूपले चलाउने भन्ने समभदारी पनि भएको थियो । उनीहरूसित पार्टी एकताको कालमा पार्टीभित्र व्यापक अनुशासनविहीनता र गुटबन्दीको स्थितिको सिर्जना भयो । त्यो वेला पार्टीमा कुनै पनि कुरा गोप्य रहँदैनथ्यो । बिपी र केन्द्रीय कमिटिमा गरिएका निर्णयहरूबारे पार्टीमा सर्कुलर हुनुभन्दा पहिले नै पत्रपत्रिकामा सार्वजनिक हुने गर्दथे ।
त्यो वेला हाम्रो एकताकेन्द्रसँग पार्टी एकता भए पनि उनीहरूको मुख्य उद्देश्य नेकपा (मसाल) लाई माओवादीमा सामेल गराउने नै थियो । उनीहरूले भित्रभित्रै माओवादी नेतृत्वसित साँठगाँठ गरेर काम गरिरहेका थिए । पार्टीका सबै गतिविधिबारे माओवादी नेतृत्वलाई रिपोर्ट गरिरहन्थे । रोल्पा वा अन्य कतिपय स्थानहरूमा गएर उनीहरूले माओवादीको केन्द्रसित सम्पर्क गरेको कुरा पनि पछि थाहा भयो ।
उनीहरूको त्यस प्रकारको षड्यन्त्रकारी भूमिका थाहा भएपछि हामीले उनीहरूसँग सम्बन्धविच्छेद गरेर नेकपा (मसाल) को पुनस्र्थापना गर्ने निर्णय ग¥यौँ । सातौँ महाधिवेशनद्वारा त्यो कार्य सम्पन्न गरियो । तर, उनीहरू नेकपा (मसाल) को एउटा समूहलाई फुटाएर आफ्नो साथ लैजान सफल भए । उनीहरूसितको पार्टी एकताबाट हाम्रो पार्टीको करिब नौ वर्षको समय खेर गयो भने, अर्कोतिर हाम्रो पार्टीको एउटा समूह पनि हामीबाट अलग भएर गयो । त्यो कटु अनुभवबाट नै पार्टी एकता गर्दा सही प्रकारले विचार गर्न नसकेमा कति धेरै क्षति पुग्ने रहेछ ? त्यो कुराको शिक्षा लिनुपर्ने आवश्यकता छ ।
माथि हामीले पार्टीभित्रको अनुशासन, गुटबन्दी वा फुटका प्रमुख उदाहरणहरूको नै चर्चा गरेका छौँ । त्योबाहेक पार्टीमा सामान्य प्रकारका अरू पनि कैयौँ उदाहरणहरू छन् । दिनानाथ, बाबुराम भट्टराई, मेघराज ज्ञवाली तथा डिलाराम र गिरिधारीहरूले पनि बेग्लाबेग्लै समयमा पार्टीभित्र गुटबन्दी गर्ने र पार्टीलाई फुटाउने प्रयत्न गरेका थिए । तर, त्यसमा उनीहरू सफल भएनन् ।
उनीहरू सबैको मुख्य उद्देश्य हाम्रो पार्टीलाई फुटाएर हाम्रो संगठनलाई माओवादीमा लैजाने थियो । हाम्रो पार्टीबाट अलग भएपछि उनीहरूले केही समयका लागि बेग्लै संगठन बनाएर भ्रम दिने प्रयत्न पनि गरेका थिए । तर, अन्त्यमा उनीहरू सबैको विलय माओवादीमा नै भएको थियो । डिलाराम र गिरिधारीले योजनाबद्ध प्रकारले नै गोप्य प्रकारले गुटबन्दी गरेर प्रवासको संगठनलाई माओवादीमा मिलाउनको लागि षड्यन्त्र गरेका थिए । तर, उनीहरूको प्रयत्न सफल हुन सकेन ।
हाम्रो पार्टीमा आन्तरिक रूपमा भएका माथि उल्लेखित विभिन्न प्रकारका अनुशासनविहीनता, गुटबन्दी वा फुटका क्रियाकलापबाहेक पार्टी बाहिरबाट पनि अनुशासनविहिनता र गुटबन्दीलाई प्रोत्साहन गर्ने, पार्टीभत्र भ्रम फैलाउने वा पार्टीमा फुट पार्ने गम्भीर प्रकारका प्रयत्नहरू हुँदै आएका छन् । त्यस सन्दर्भमा सबैभन्दा उल्लेखनीय उदाहरण रायमाझी गुटको नै हो । पार्टीलाई राजावादी क्याम्पमा लैजाने षड्यन्त्रका पछाडि मुख्य भूमिका दरबारको नै थियो ।
रायमाझी गुटको पतन त भयो नै, उनको प्रभावमा परेर थुप्रै इमानदार पार्टी सदस्य वा कार्यकर्ताहरूको पनि कम्युनिस्ट आन्दोलनबाट विचलन भयो । र ‘सिआइए’ ले पनि नेपालको विभिन्न कम्युनिस्ट पार्टी वा गुटहरूभित्र आफ्नो घुसपैठ गर्ने गरेका थुप्रै उदाहरणहरू पाइन्छन् । नेकपा (मसाल) मा अहिलेसम्म उनीहरूले त्यसरी घुसपैठ गरेको हामीलाई कुनै जानकारी छैन । तर, स्वयम् कम्युनिस्ट पंक्तिका विभिन्न पक्षहरूद्वारा समय समयमा त्यस प्रकारका प्रयत्नहरू हुने गरेका छन् वा उनीहरूको प्रभावबाट हाम्रो पार्टीमा व्यापक रूपले भ्रम पैदा हुने वा फुटहरू हुने गरेका छन् ।
पूर्वमालेले उग्र ‘वामपन्थी’ लाइन लिएपछि त्यसको व्यापक असर हाम्रो पार्टीमा परेको थियो । त्यसका विरुद्ध हामीले कडा सैद्धान्तिक संघर्ष गर्नुपरेको थियो । त्यही क्रममा ‘उग्रवामपन्थी विचारधाराको खण्डन’ पुस्तक लेखिएको थियो । तर, उग्रवामपन्थी विचारधाराको विरुद्धको हाम्रो त्यस प्रकारको कडा संघर्षको बाबजुद पार्टीभित्रबाट ठूलो संख्यामा हाम्रो पार्टीका सदस्य वा कार्यकर्ताहरू मालेमा मिल्न गए । उनीहरू क्रान्तिकारी उद्देश्यद्वारा प्रेरित भएर नै मालेमा मिलेका थिए । तर, विडम्बना यो भयो कि उनीहरूले एमाले हुँदै दक्षिणपन्थी दिशा समात्न पुगे । पछि एमालेको भ्रममा परेर पनि हाम्रो पार्टीका कुनै कार्यकर्ताहरू त्यसमा सामेल भएका थिए ।
माओवादीको कथित जनयुद्ध सुरु भएपछि त्यसको पनि ठूलो असर हाम्रो पार्टीमा परेको थियो । उनीहरूले हाम्राविरुद्ध अत्यन्त निम्नस्तरका गालीगलौजको अभियान नै चलाएका थिए । हाम्रा पार्टीका थुप्रै सदस्यहरू, यद्यपि उच्च प्रकारको क्रान्तिकारी भावना तथा शीघ्र क्रान्तिको इच्छाद्वारा प्रेरित भएर त्यसमा मिल्न गए । माओवादीहरूले हाम्रा विरुद्ध खालि गालीगलौज र चरित्रहत्याद्वारा मात्र होइन, भौतिकरूपले पनि हाम्रा विरुद्ध लगातार आक्रमण गर्ने नीति अपनाए ।
उनीहरूले तत्कालीन एकताकेन्द्रको नेतृत्वको माध्यमद्वारा हाम्रो पार्टीलाई आफ्नो संगठनमा सामेल गराउन षड्यन्त्र गरेको कुराको माथि उल्लेख भइसकेको छ । बताइरहनु आवश्यकता छैन कि उनीहरूको त्यस प्रकारको प्रयत्नहरूका कारणले पनि हाम्रा कैयौँ साथीहरू हाम्रो पार्टीबाट अलग भएर माओवादीमा मिल्न पुगे । पछि उनीहरू सबैले पनि हाम्रा पार्टीका सदस्य वा कार्यकर्ताहरूलाई नेकपा (मसाल) बाट अलग भएर माओवादीमा सामेल हुनका लागि उनीहरूको मुखपत्र ‘अ वल्र्ड टू विन’ मा सार्वजनिकरूपले नै अपिल प्रकाशित गरेको थियो । तर, त्यसको हाम्रो पार्टीमा कुनै असर परेको थिएन ।
पार्टीभित्र देखापर्ने अनुशासनविहीनता, गुटबन्दी वा बाहिरबाट पार्टीमाथि भएका आक्रमणका सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो हो ! गालीगलौज र चरित्रहत्याको राजनीति । लेनिनले भनेका छन्, कुनै पक्षको राजनीतिक दरिद्रता वा दिवालियापन गालीगलौजमा अभिव्यक्त हुने गर्दछ (शब्दशः हुने होइन) । अर्कातिर, कसैको निम्न सैद्धान्तिक कारणले पनि उसको चिन्तन गालीगलौज र चरित्रहत्याको राजनीतिमा देखापर्ने गर्दछ ।
नेपालका राजनीतिक दलहरूमा त्यस प्रकारका प्रवृत्तिहरू निकै देखापर्ने गरेका छन् । तर, यहाँ हामी अन्य राजनीतिक दलहरूको त्यस प्रकारको चिन्तन प्रणालीबारे चर्चा गर्नेपट्टि लाग्दैनौँ र खालि वामपन्थी संगठनहरूमा देखापर्ने गरेका गालीगलौज र चरित्रहत्याको राजनीतिको चर्चा गर्नेसम्म नै सीमित रहनेछौँ ।
पार्टीका संस्थापक नेताहरूमा त्यस प्रकारका कमजोरीहरू थिए वा थिएनन् ? त्यसबारे हामीलाई थाहा छैन । तर, पछिका अन्य कतिपय संगठनहरूमा त्यस प्रकारका कमजोरीहरू निकै देखापर्ने गरेका छन् । तत्कालीन मालेका विरुद्ध हामीले सैद्धान्तिकरूपले नै आलोचना गर्ने गरेका थियौँ । तर, उनीहरूले हाम्रा विरुद्ध व्यक्तिगत आलोचना वा गालीगलौजको भाषा प्रयोग गर्ने गरेका थिए । उनीहरूका त्यस प्रकारका केही आलोचनाहरू यस प्रकार छन्ः
‘संशोधनवादी गुट’, ‘क्रान्तिका शत्रु,’ ‘प्रतिक्रान्तिकारी पार्टी’, ‘अन्तर्राष्ट्रिय केन्द्र सोभियत संशोधनवादलाई मानेर काम गर्ने तत्व’, ‘नेपालमा क्रान्तिलाई खतम पार्ने साम्राज्यवादी योजनाकै सहयोगी’, ‘अमेरिकी साम्राज्यवादकै मद्दतगार’ आदि । (उग्रवामपन्थी विचारधाराको खण्डन, पृ. १६५) गालीगलौज र चरित्रहत्याको राजनीति माओवादीको कालमा चरम र नांगोरूपमा देखा पर्यो ।
उनीहरूले आफ्नो दस्तावेज ‘व्यक्तिवादी अराजकतावादको नेपाली आयाम’ मा हाम्रा विरुद्ध प्रयोग गरेका व्यक्तिगत आक्षेपहरू यस प्रकारका थिए । ‘छट्टु’, ‘वकवास गर्ने चरित्र’, ‘दक्षिणपन्थी पाखण्डीपनको घृणित उदाहरण’, ‘हद दर्जाको बेइमान’, ‘पुँजीवादी तत्व’, ‘पार्टीभित्र पस्न सफल भएको सामन्त वर्गको प्रतिनिधि’, ‘सामन्ती अवशेष’, ‘ठूलो सामन्तको छोरा’, ‘जडसूत्रवादी’, ‘अस्तुवादी’, ‘वातबहादुर’, ‘अत्यन्त डरपोक’, ‘छाडा’, ‘फ्रायडवादी’, ‘सामन्ती चरित्र’, ‘सामन्ती चरित्र’, ‘माक्र्सवादको दोसल्लाभित्र आफ्नो अवसरवादी अनुहार छिपाउन सफल भएको’, ‘फट्याइँ गर्न निक्कै सिपालु’, ‘प्रतिक्रियावादी वर्गको प्रतिनिधि’, ‘वितण्डतावादको सकसी प्रतिनिधि’, ‘राजा त्रिभुवनको वर्गबन्धु’, ‘राजा तथा कांग्रेस परस्त दक्षिणपन्थी खिचडी चरित्र’, ‘घृणित तत्व’, ‘रुसको मार्तोवको नेपालमा मोहनविक्रमको पुनः जन्म’, ‘आफूलाई महान् नेता मात्र होइन, नेपाली क्रान्तिको एकमात्र प्रेरक जस्तो देखाउने’, आदि । (इतिहासले सुम्पेको जिम्मेवारी वा मजाक, पृ. २)
रिमले नेकपा (मसाल) का पार्टी सदस्य र कार्यकर्ताहरूलाई मसालबाट अलग भएर माओवादीमा मिल्नका लागि अपिल गरेर ‘अ वल्र्ड टू विन’ मा लामो नै लेख प्रकाशित गरेको थियो । त्यसमा हाम्राविरुद्ध थुप्रै आलोचनाहरू थिए । तर, त्यस प्रकारका आलोचनाहरू सबै सैद्धान्तिक र वैचारिकस्तरका थिए । तिनीहरूमा व्यक्तिगत आक्षेप, गालीगलौज वा चरित्रहत्या जस्तो कुनै पनि कुरा थिएन ।
त्यसले उनीहरूको उच्चस्तरको चिन्तन स्तरलाई नै बताउँछ । त्यसको विपरीत नेपालको राजनीतिमा खास गरेर कम्युनिस्ट पंक्तिमाथि उल्लेखित व्यक्तिगत आक्षेप गालीगलौज वा चरित्रहत्याको राजनीतिले उनीहरूको अत्यन्त निम्नस्तरको चिन्तन प्रणालीलाई नै बताउँछ । यहाँ उल्लेखनीय छ कि हाम्रा पार्टीका विरुद्ध त्यस प्रकारका निम्नस्तरका र सिद्धान्तहीन प्रकारका आक्षेप वा गालीगलौजका बाबजुद हामीले कहिल्यै पनि उनीहरूका विरुद्ध व्यक्तिगत आक्षेप लगाउने, गालीगलौज गर्ने वा चरित्रहत्या गर्ने कार्य गरेनौँ ।
हामीले गत करिब ६ दशकमा प्रकाशित गरेका सबै पुस्तक, लेख वा वक्तव्यहरूको अध्ययन गर्ने हो भने पनि कसैका विरुद्ध हामीले एउटा पनि गालीगलौज नगरेको वा व्यक्तिगत आक्षेप नलगाएको कुरा प्रष्ट हुनेछ । अन्य पक्षहरूले हाम्रा विरुद्ध अत्यन्त निम्नस्तरका गालीगलौज गर्दा पनि हामीले त्यसको जवाफमा एक शब्द पनि गालीगलौजको शब्दको प्रयोग नगर्नु सामान्य कुरा होइन । त्यसले उनीहरू र हाम्रो बीचको चिन्तन प्रणालीमा भएको अन्तरलाई नै बताउँछ ।
माथि हाम्रो पार्टीको चिन्तन प्रणालीबारे जे भनियो, त्यसको अर्थ हाम्रो पार्टीमा त्यस प्रकारका कमजोरीहरू विल्कुल छैनन् भन्ने होइन । गत कालमा पार्टीभित्रका विभिन्न प्रकारका अनुशासनविहीनता, गुटबन्दीका सिलसिलामा सिद्धान्तहीन, अराजनीतिक वा व्यक्तिगत प्रकारका आक्षेपहरू लगाउने काम बारम्बार हुने गरेको छ ।
खास गरेर दुइलाइनको संघर्ष वा अन्तरसंघर्षको क्रममा त्यस प्रकारका प्रवृत्तिहरू बारम्बार देखापर्ने गरेका छन् । त्यसले पार्टीभित्रको वातावरणलाई दूषित र अस्वस्थ बनाउँछ तथा पार्टीभित्रको अनुशासन वा एकतालाई खण्डित गर्दछ । त्यसैले, हाम्रो पार्टीले त्यस प्रकारका कमजोरीहरूका विरुद्ध प्रशिक्षण दिने र पार्टीभित्रको चिन्तनलाई उच्च सैद्धान्तिक र राजनीतिकस्तरमा उठाउने प्रयत्न गर्दै आएको छ । त्यसैको परिणाम हो कि हाम्रो पार्टीको चिन्तन, अनुशासन वा एकताको स्तर अन्य वामपक्षीय संगठनहरूको भन्दा धेरै नै माथिल्लो स्तरको छ ।
हाम्रा अगाडि पार्टीभित्रका अनुशासनविहीनता, अराजकता वा तिनीहरूका विरुद्ध संघर्षको लामो इतिहास छ । त्यस प्रकारका प्रवृत्तिहरूका कारणले पार्टीमा बारम्बार फुट भएको र त्यसबाट पार्टीलाई धेरै क्षति पुग्ने गरेको लामो अनुभव पनि हाम्रा अगाडि छ । त्यो अनुभवबाट शिक्षा लिँदै त्यस प्रकारको स्थितिको पुनरावृत्ति हुन नदिन उच्च प्रकारको सतर्कता अपनाउनु आवश्यक छ ।
प्रतिक्रिया