महासमिति पछिको नेपाली कांग्रेस

नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो पार्टी हो । ०७ सालको क्रान्ति, ०४६ र ०६२-६३ सालको जनआन्दोलन सफल पार्न प्रमुख नेतृत्वदायी भूमिका खेलेको कसैले बिर्सन सक्दैन । सरकारमा पटकपटक जाने मौका र सरकारको नेतृत्व पनि पटकपटक नै गरेको हो ।

सरकारमा रहँदा कांगेसले त्यति लोकप्रियता हासिल गर्न भने सकेन । ०४६ सालको परिवर्तनपछि भएको आमनिर्वाचनमा कांग्रेसले बहुमत ल्यायो र सरकार बनायो । पार्टीभित्र गुट उपगुट त्यसवेला पनि थियो । त्यही गुट अनि उपगुटले कांग्रेसको जगलाई कमजोर बनाएको थियो । ०४८ सालको आमनिर्वाचनपछि गठन भएको सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । परिवर्तनपछि जनतामा एक किसिमको ऊर्जा र उमंग थियो ।

कोइरालाले नेतृत्व गरेको सरकारले जनताले सोचेअनुसार काम गर्न सकेन । किनभने पार्टीभित्र विवाद गुट अनि उपगुटको जन्म भएको थियो । त्यसवेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला जस्ता हस्तिहरू पार्टीमा थिए । तर, कांग्रेसको नीति, सिद्धान्त र विचारअनुसार सरकार चल्न सकेको थिएन ।

बिपी कोइरालाले अघि सारेको समाजवादको मार्ग दर्शनअनुसार कांग्रेस अघि बढ्न सकेन । आन्तरिक विवाद, पद र सत्ता स्वार्थमा कांग्रेस नेताको ध्यान गयो । पद र सत्ता स्वार्थले कांग्रेस अघि बढ्न सकेन । देशको विकास र समृद्धि गर्न सकेन । देशमा बेरोजगारी समस्या हल गर्न सकेन । जनताका आधारभूत आवश्यकताहरू पूरा गर्न सकेन । जसले गर्दा कम्युनिस्टहरूको बाहुल्यता बढ्दै गयो । विगतमा कांग्रेसले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउँथ्यो भने कम्युनिस्टहरू बढेर जाने थिएनन् । यो कांग्रेसको कमजोरी हो । हरेकले इतिहासबाट शिक्षा लिन्छ । अब कांग्रेसले पनि इतिहासबाट पाठ सिक्नुपर्ने जरुरी देखिएको छ ।

अब कांग्रेस जनताको घरदैलोसम्म पुग्नुपर्छ र जनतालाई आफू सुध्रिएको सन्देश दिनुपर्छ । त्यसो भयो भने कांग्रेसको भविष्य छ । पार्टीभित्र आत्मआलोचना गरेर कहाँनिर कमजोरी छ, त्यो पत्ता लगाएर कांग्रेसअघि बढनुपर्छ

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको बहुमतको सरकार पार्टीभित्रको आन्तरिक विवाद र कलहका कारण नै विघटन गरी मध्यावधि निर्वाचनमा जानु परेको हो । त्यसले कांग्रेसलाई बलियो बनाएन । कमजोर बनायो । मध्यावधि निर्वाचनको परिणाम कांग्रेसका लागि सोचेअनुसार आउन सकेन । जसले गर्दा नेकपा एमालेले अल्पमतको सरकार चलायो । त्यो पनि नौ महिनाभन्दा बढी टिक्न सकेन ।

नौ महिनाको कार्यकालमा एमालेको सरकारले लोकप्रिय काम भने गरेको थियो । त्यही व्याज खाँदै तत्कालीन एमाले यहाँसम्म आइपुगेको छ । नेपाली कांग्रेसले आफूलाई सुधार गर्दै अघि बढ्ने कोसिस कुनै दिन गरेन । सत्ता स्वार्थका कारण पार्टी फुट्यो । पार्टी कमजोर भएपछि राजाले शासनसत्ता आफ्नो हातमा लिए । नेपाली कांग्रेसका कारण नै माओवादी जनयुद्ध सुरु भयो । कांग्रेसले राम्रो काम गरेको भए जनताले माओवादीलाई साथ दिने थिएनन् । हजारौँ मान्छेको ज्यान गयो । भौतिक सम्पत्ति नष्ट भए । जनताले धेरै दुःख कष्ट व्यहोर्न बाध्य भए ।

अन्ततः राजाको दमनका कारण दलहरूबीच संवाद सहमति र सहकार्य गर्दै राजाको विरुद्ध ०६२-६३ सालमा जनआन्दोलन भयो । त्यसको नेतृत्व नेपाली कांग्रेसले नै ग¥यो । माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने प्रमुख भूमिका पनि नेपाली कांगे्रसले नै खेलेको हो । हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका कांग्रेसले नै खेल्दै आएको छ । लोकतन्त्र, गणतन्त्र हुँदै नयाँ संविधान जारी गर्ने काममा समेत कांग्रेसको महत्वपूर्ण भूमिका रहेको छ ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने सत्य कुरा हो । किनभने जुनवेलाबाट कांग्रेस कमजोर बनेको छ, त्यसवेला प्रतिगामी तत्वहरू सक्रिय हँुदै आएका छन् । विगतको इतिहासले पनि यो कुरा देखाएको छ । जुनवेला कांग्रेस कमजोर बन्यो त्यसवेला नै राजाले शासनसत्ता आफ्नो हातमा लिएको इतिहास हेर्न सकिन्छ । संविधान सभाको पहिलो निर्वाचनमा कांग्रेस दोस्रो दल बन्यो । संविधान बन्न सकेन र दोस्रो संविधान सभाको निर्वाचन गर्नुपरेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस मुलुककै सबैभन्दा ठूलो दल बन्यो र कांग्रेसकै नेतृत्वमा नयाँ संविधान जारी हुन सफल भयो ।

राम्रो कामको प्रशंसा गर्न कन्जुस्याइँ गर्नु हुँदैन । संविधान जारी भएपछि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका कारण कांग्रेस प्रतिपक्षमा खुम्चन बाध्य भयो । अहिले मुलुकमा कम्युनिस्टको बहुमतको सरकार छ । सरकारले मनपरी गरिरहेको छ । तर, प्रमुख प्रतिपक्षी कांग्रेस निरीह बनेर बसेको छ । नत सडक तताउन सकेको छ नत सशक्त प्रतिपक्षको भूमिका खेल्न सकेको छ । यो कांग्रेसको निरीहपन हो । प्रतिपक्षीदल कमजोर रहँदा सरकार निरंकुश बन्दै जाने खतरा हुन्छ । जबजब कांग्रेस कमजोर हुन्छ, तब महासमिति बैठक डाक्ने गर्छ ।

गत मंसिर २८ गतेदेखि सुरु भई पुस ९ गते सम्पन्न भएको महासमिति बैठकले खासै निष्कर्ष निकाल्न सकेको देखिएन । चार दिनका लागि डाकिएको बैठक नेतृत्वको कमजोरीका कारण लम्बिंदै लम्बिंदै ११ दिन पुग्यो । तर, जनता र कार्यकर्तालाई उत्साह दिने कुनै निर्णय गर्न सकेन । केबल नेताहरूको पद व्यवस्थापनमै बैठक केन्द्रित भयो । पार्टीभित्रको आन्तरिक विवादले थला परेको कांग्रेस नयाँ ऊर्जा र नयाँ विचार लिएर अब अघि बढनुपर्ने आवश्यकता देखिएको थियो । तर, त्यो आवश्यकता पूरा गर्ने सन्देश महासमितिको बैठकले दिएन ।

उद्घाटनका दिन सबै शीर्ष तहका नेताहरूले हात जोडेर एकताको सन्देश दिए पनि अहिले त्यस्तो भावनात्मक एकता भएको महसुस गर्न सकिँदैन । पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्ण सिटौला, विजय गच्छदार, शेखर कोइराला, शशांक र गगन थापा लगायतका नेताहरूबीच भावनात्मक एकता हुन जरुरी छ । देखावटी एकता होइन, भावनात्मक एकताको खाँचो महासमितिका सदस्यहरूले औँल्याएका छन् ।

अधिकांश महासमितिका सदस्यहरूले पार्टी एकताबद्ध भएर अघि बढ्न सुझाएका छन् । अब पार्टी कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ । नेपाली कांग्रेसका लागि परिस्थिति त्यति सहज छैन । संकटपूर्ण परिस्थितिबाट पार्टी गुज्रिरहेको छ । पार्टीलाई नयाँ ऊर्जाका साथ अघि बढाउन नेतृत्वमाथि कार्यकर्ताहरूको दबाब परिरहेको छ । नेपाली कांग्रेसको भविष्य र अस्तित्वमाथि नै यतिखेर टीका टिप्पणीहरू उठ्न थालेका छन् । कांग्रेस लोकतन्त्रवादी शक्ति हो । यो पार्टीको भविष्य राम्रो हुनुपर्छ । विगतमा लोकतन्त्र प्राप्तिदेखि थुप्रै उपलब्धिहरू हासिल गर्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो कुरालाई कसैले पनि भुल्नु हुँदैन ।

महासमिति बैठकमार्फत कांग्रेसले अबको राजनीतिक कार्यदिशा र रणनीति कस्तो लिन्छ भन्ने सबैको चासोको विषय बनेको थियो तर परिणाम राम्रो आएन । परिणाम राम्रो नआए पनि बिग्री हालेको भने छैन । अझै सच्याउने ठाउँ छ । अब नेपाली कांग्रेसले महासमिति सदस्यदेखि लिएर सम्पूर्ण कार्यकर्तामा आशा जगाउने किसिमले निर्णय गर्नुपर्ने जरुरी देखिएको छ ।

कांग्रेस पार्टीले प्रतिपक्षको भूमिका सशक्त रूपमा खेल्नुपर्ने जरुरी पनि देखिएको छ । पार्टीभित्रको गुट उपगुटको अन्त्य गर्दै नेपाली कांग्रेस अघि बढ्नुपर्छ । विगतका कमी कमजोरीहरूलाई सच्याउँदै कांग्रेस अघि बढ्नुपर्छ । नेपाली जनताले पाँच वर्षका लागि नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिका खेल्न जनादेश दिएका छन् ।

यो कुरा आत्मदेखि नै कांग्रेसले स्वीकार गर्न सिक्नुपर्छ । संगठन विस्तार र पार्टीलाई बलियो बनाउँदै लैजाने यो एउटा अवसर पनि हो कांग्रेसका लागि । नीति, नेतृत्व र संगठन यी तीन कुरामा प्रस्ट भएर कांग्रेस अघि बढ्नुपर्छ । लामो इतिहास बोकेको कांग्रेसको भविष्य संकटमा पर्नु हुँदैन । देशको परिस्थिति सही ढंगले चल्न सकिरहेको छैन । जनताका समस्या समाधान हुन सकिरहेका छैनन् । सरकारले चुनावका वेला बोलेका कुरा लागू गर्न सकिरहेको छैन ।

सरकारप्रति जनताको वितृष्णा जागेर आएको छ । यस्तो वेलामा कांग्रेसले जनतासामु गएर प्रस्ट विचार राख्नुपर्ने हो । त्यो पनि सकिरहेको छैन । अब कांग्रेस जनताको घरदैलोसम्म पुग्नुपर्छ र जनतालाई आफू सुध्रिएको सन्देश दिनुपर्छ । त्यसो भयो भने कांग्रेसको भविष्य छ । पार्टीभित्र आत्मआलोचना गरेर कहाँनिर कमजोरी छ, त्यो पत्ता लगाएर कांग्रेस अघि बढ्नुपर्छ ।

प्रतिक्रिया