नेकपामा अहिले पूर्वमाओवादी नेता तथा कार्यकर्ताको पंक्ति मौन छ । पार्टी नेतृत्वको कार्यशैली होस् या सरकारको प्रस्तुति, यो पंक्ति केही बोल्दैन । न समर्थनमा बोल्छ, न विरोध गर्छ । एकथरिले नेकपाभित्रका पूर्वमाओवादीहरू ‘रमिता हेरेर बसेको’ टीप्पणी गरिरहेका छन्
अहिले नेकपा एमाले विधिवत् रूपमै अस्तित्वमा नरहेको सात महिना नाघ्यो । ३ जेठ ०७५ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि एमाले पार्टी नै अब विगत बन्न पुगेको छ । तत्कालीन एमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराही, काठमाडौंस्थित भवन नै नेकपाको केन्द्रीय कार्यालय स्थापना गरिएको र एमालेकै अध्यक्ष केपी शर्मा ओलीले नेकपाको नेतृत्व गरिरहेको तथ्य हेर्दा तत्कालीन एमाले नै वर्तमान नेकपाका रूपमा स्थापित भएको देखिन्छ ।
झट्ट हेर्दा उस्तैउस्तै लागे पनि यी दृश्यबाहेक वर्तमान नेकपामा हिजोका एमालेको ‘लिगेसी’ देखिँदैन । सहरदेखि दूरदराजका गाउँ र देहातसम्मका कार्यकर्तालाई गोलबद्ध गर्ने स्पष्ट विचारकै संकट भोगिरहेछ नेकपा । तत्कालीन एमालेको सबभन्दा ठूलो पुँजी छरितो, चुस्त र प्रभावकारी संगठन थियो तर सात महिनायता नेकपामा संगठन संचरना नै छैन भन्दा पनि हुन्छ ।
‘एकतापछिको संक्रमणकाल’ का नाममा कमिटी प्रणालीलाई पूरै उपेक्षा गरिएको छ । केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी रहे पनि कार्यकारी अधिकार नौ सदस्यीय केन्द्रीय सचिवालयमा सीमित गरिएको छ । त्यही सचिवालयमा पनि अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णय अन्तिम हुने गर्छ ।
एमाले–माओवादी एकतापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भर्खर सकिएको छ । बैठकमा पेस भएका फरक मतसहितको प्रतिवेदनको तरंग र नेतृत्वको आलोचना तथा बचाउमा भइरहेको नेताहरूबीचको रस्साकस्सी आफ्नै ठाउँमा छ । अध्यक्षद्वय ओली र दाहालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केलाउँदा पनि पार्टी र सरकारको नेतृत्व पूरै रक्षात्मक बनेको देखिन्छ ।
प्रतिवेदनमा उल्लेख छ, ‘पछिल्लो समय विपक्षी कित्ताबाट पार्टी र सरकारविरुद्ध भ्रामक प्रचारको योजनाबद्ध अभियान नै चलाइएको छ । साधनस्रोत सम्पन्न, अत्याधुनिक प्रविधियुक्त र विभिन्न ठाउँबाट प्रेषित यस्तो योजनाबद्ध ‘प्रोपोगाण्डा’ का तुलनामा हाम्रो प्रचार अभियान निकै कमजोर देखिएको छ । पार्टी र सरकारका नीति र योजनाहरूलाई जनतामाझ सम्प्रेषित गर्न, पार्टीको पक्षमा जनमत निर्माण गर्न र विरोधमा भइरहेका भ्रमपूर्ण प्रचार र प्रोपोगाण्डाहरूलाई निष्प्रभावी तुल्याउन सकिएको छैन ।
त्यसैगरी, पार्टी पंक्तिको एउटा हिस्सामा सामाजिक सञ्जालमार्फत आफ्ना निजी असन्तुष्टि र गुनासा व्यक्त गर्ने, विभिन्न र लोकतान्त्रिक अधिकारका नाममा पार्टीको संस्थागत निर्णयका विपक्षमा राय अनि अभिमत प्रकट गर्ने प्रवृत्ति पनि देखापरेको छ । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्दछ र पार्टी तथा सरकारका पक्षमा सशक्त प्रचार अभियान सञ्चालन गर्न जरुरी छ ।’
यसअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको औपचारिक कार्यक्रममै सरकारको प्रतिरक्षा नगरिएको भन्दै असन्तुष्टि पोख्दै भनेका थिए, ‘सरकारले देशलाई सही बाटोमा हिडाउँछ र जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरू र सामाजिक न्याय हुन नदिनेहरूले अफवाह फैलाएका छन् ।
पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणले यस्ता कुरामा प्रतिवाद गर्नुपर्छ । तर, यत्रो पंक्तिमा बोल्न जान्ने कोही छ जस्तो पनि लाग्दैन, कोही बोलेको पनि सुनिंदैन । सरकारले राम्रो काम गरिरहेको छ, त्यसको प्रतिरक्षा हुँदैन ।’ पछिल्लो समय सरकार र पार्टी नेतृत्वको कार्यशैलीको नेकपाभित्रै आलोचना हुन थालेको छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘सरकारलाई पार्टीले चलाउने व्यवस्था हुनुपर्छ । यो पार्टी एक-दुई जनाले मात्र बनाएको होइन, सबैको पार्टी हो भन्ने बुझेर काम गरौँ । प्रदेश कमिटी गठन गर्दा वरिष्ठता मिचिएको छ, विधिभन्दा व्यक्तिको अनुहार हेरिएको छ ।’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘पार्टीको उचाइअनुसार प्रतिवेदन आएन, परिमार्जन गर्नुपर्दछ । पार्टी एकताको सात महिना बितिसक्दा पनि मूल राजनीतिक प्रतिवेदन आउन सकेन, सरकार जनअपेक्षाअनुसार ठीक ढंगले चल्न सकेन ।’
यसैगरी, सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वय ओली र दाहालको राजनीतिक प्रतिवेदनविरुद्ध फरक मतसहितको अर्को प्रतिवेदन नै प्रस्तुत गरी तीव्र असन्तुष्टि नै जनाए । नेकपाका स्थायी समिति सदस्यहरू र केन्द्रीय कमिटी सदस्यहरूले अध्यक्षद्वयको प्रतिवेदनप्रति असन्तोष र असन्तुष्टि जनाउँदै फरक मतसहितको समावेश गरेर संशोधन गर्नुपर्ने बताएका छन् ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले जनतामा चुलिएको असन्तुष्टि र निराशालाई आँकलन गर्न नसकेको भन्दै भने, ‘तीन तीन जना पूर्वप्रधानमन्त्री रहेको पार्टीमा सरकार र पार्टी नेतृत्वले कुनै संवाद र विमर्श नै गर्दैन, सरकार र पार्टीले लिने निर्णयमा आफ्नो आवाज नै नसमेटिएपछि त्यसको स्वामित्व लिन को तयार हुने ? सरकार र पार्टीका पक्षमा तलसम्म अभियान चलाउने पार्टी संगठन छैन, सरकारका नीति र निर्णयको प्रतिरक्षा गर्नेदेखि नीति तर्जुमा गर्न प्रतिक्रिया दिने पार्टी च्यानल नै ब्रेक भएको छ ।’
नेकपाको पछिल्लो अवस्थाले पूर्व एमालेका नेता तथा कार्यकर्ताहरूमा हिजोको पार्टी संरचना, संगठन र त्यसवेलाको पार्टी तथा सरकार सञ्चालन पद्धति ‘मिस’ हुन थालेको छ । नेकपामा अहिले पूर्वमाओवादी नेता तथा कार्यकर्ताको पंक्ति मौन छ । पार्टी नेतृत्वको कार्यशैली होस् या सरकारको प्रस्तुति, यो पंक्ति केही बोल्दैन । न समर्थनमा बोल्छ, न विरोध गर्छ । एकथरिले नेकपाभित्रका पूर्वमाओवादीहरू ‘रमिता हेरेर बसेको’ टीप्पणी गरिरहेका छन् । तत्कालीन माओवादीबाट आएका नेकपाका एक नेताले भने केही बोल्दा ‘एकता प्रक्रिया खल्बलिने’ भएकाले आफूहरू मौन बसेको दाबी गर्छन् । नेकपा एमाले गठन भएपछिको तीन दशकमा पहिलोपटक उसको लोकतन्त्रप्रतिको निष्ठा र लोकतान्त्रिक मूल्य मान्यताबारेको प्रतिबद्धताप्रति प्रश्न उठ्न थालेको छ ।
नेकपाका एक नेता अहिलेको सम्पूर्ण समस्याको जड पार्टीका अध्यक्षद्वय ओली र दाहाल भएको बताउँछन् । एकतापछि नेकपामा पार्टी सञ्चालनको जिम्मा केन्द्रीय सचिवालयलाई दिइएको छ, जसमा ९ जना शीर्ष नेता रहेका छन् । तर, पार्टीका निर्णय प्रक्रियादेखि सरकारले गर्ने नियुक्तिसम्ममा सचिवालय नभई ‘अध्यक्षद्वय’ मात्र हामी हुन पुगेको गुनासो चुलिएको छ ।
पूर्व एमालेका एक नेता भन्छन्, ‘माओवादीबाट आएका साथीहरू नै हाम्रोमा अध्यक्षले सबै निर्णय गर्ने हुँदा सबथोक बिग्रेको थियो, एमालेमा संगठनले निर्णय गर्ने हुँदा पार्टी राम्रोसँग चल्ला भन्ने लाग्थ्यो, अब नेकपामा पनि निर्णय गर्ने अधिकार हिजोको माओवादीमा जस्तै अध्यक्षमा पो थुप्रियो ।
हामीले माओवादीको एमालेकरण भयो भन्यौँ, माओवादीलाई हामीजस्तै बनाउँछौँ भन्यौं, तर पार्टी सञ्चालनमा हामी नै माओवादीजस्तै हुन पुग्यौँ ।’ स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भने नेकपाका अध्यक्षद्वय ओली र दाहालले केन्द्रीय सचिवालयलाई ‘कोर अफ दी लिडरसिप’ अर्थात् मुख्य नेतृत्व भनेका छन् । तर, स्थायी कमिटीमै नेतृत्वले आत्मालोचना गरेर सचिवालयलाई निर्णायक बनाउने हो भने धेरै कुरा सम्हालिन सक्छन्, पार्टीमा पद्धति बस्न सक्छ नत्र नेकपा भाँडभैलोमै बित्दै जान्छ र विघटनतिर जान बेर छैन ।
प्रतिक्रिया