एघार आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालु आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता १ हजार ३ सय ८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १ सय ९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागका अनुसार हालसम्म ७ हजार २ सय ६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् ।

चालु आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४ सय ४० मेगावाट क्षमताको तिला एक र ४ सय २० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन् । ती आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेको छ । यस्तै, २ सय ८२ मेगावाट क्षमताको मनाङ मस्र्याँदी जलविद्युत् आयोजनाले पनि त्यस्तो अनुमतिपत्र लिएको छ । सो आयोजनाको प्रवद्र्धक मनाङ मस्र्याँदी हाइड्रोपावर कम्पनी रहेको छ । कुल १ सय ४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याँदी जलविद्युत् आयोजनाको प्रवद्र्धक बुटवल पावर कम्पनी रहेको छ । उक्त आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ ।

विभागका महानिर्देशक नवीनराज सिँहका अनुसार ह्याबिट्याट पावर कम्पनीले निर्माण गर्ने ५ मेगावाट क्षमताको हेवा ए, युनिटेक हाइड्रो पावर कम्पनीले निर्माण गर्ने ५ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो फावाले पनि हालै विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ । सेन्चुरी इनर्जी प्रालिले प्रवद्र्धन गर्ने शून्य दशमलव ९७ मेगावाट क्षमताको हाँडी खोला, गोरक्ष इनर्जी प्रवद्र्धक रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ ।

नीलगिरि खोला हाइड्रो पावर कम्पनीको प्रवद्र्धनमा निर्माण हुने ६२ मेगावाटको नीलगिरि खोला र शक्ति ऊर्जा विकास कम्पनीले प्रवद्र्धन गर्ने शून्य दशमलव ९५ मेगावाट क्षमताको तौथली खोलाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ । विभागका अनुसार हाल सरकारको बास्केटमा रहेका आयोजनाको सँख्या १ सय २ छन् । ती आयोजनाको क्षमता २ हजार ७ सय ७० मेगावाट रहेको छ । यस्तै, एक मेगावाटभन्दा माथि रहेका कुल ७४ आयोजनाबाट १ हजार ३ मेगावाट र एक मेगावाटभन्दा साना १५ आयोजनाबाट ११ मेगावाट गरी कुल ११ सय १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

प्रतिक्रिया