नेपाल–म्यान्मार व्यापारमा जोड–सुकि

नेपाल चेम्बर अफ कर्मश २०१८ को प्रदर्शनी उदघाटन कार्यक्रममा बिहीबार सहभागी भएकि म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी कार्यक्रममा मन्तव्य व्यक्त गर्दैै । तस्वीर : रासस

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०१८’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सो एक्स्पोको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र म्यानमारकी राज्य सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

अध्यक्ष दाहालले राजनीतिक उतारचढावको शृंखलालाई पार गरी देश समृद्धिको नयाँ युगमा प्रवेश गरेकोले आर्थिक समद्धिको पाइलामा अब देशले फड्को मार्ने बताए । त्यस्तै, उनले नव–उदारवादले विश्वमा विकासको ‘युनिक’ सहकार्य र चरित्रलाई अघि बढाएको बताए । निजी व्यवसायीहरूको पुँजी र सरकारको लगानी एक ठाउँमा ल्याएर गरिने विकासले समृद्धिको ढोका खोल्ने उनको भनाइ थियो ।


नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्स्पोले नेपालको आर्थिक विकासमा महत्वपूर्ण अवसर सिर्जना गर्ने अध्यक्ष दहालको विश्वास थियो । नेपालमा स्थिर सरकार बनेको र लगानीको लागि सरकारले उचित वातावरण निर्माण गरेकोले नेपालमा निर्धक्कका साथ लगानी गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरे ।

त्यस्तै, सुकीले नेपाल र म्यान्मारबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताइन् । उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन ।

नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत््, प्रविधिलगायतका क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताइन् । अर्को प्रसंगमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताइन् ।

म्यानमार र नेपालबीच दुईपक्षीय र बहुपक्षीय सम्बन्धलाई अझै बलियो बनाउन उपक्षेत्रीय तहमा गरिने सहकार्य महत्वपूर्ण हुने र त्यसको लागि नेपाल र म्यानमारले उपक्षेत्रीय मञ्चलाई दुईपक्षीय हितमा प्रयोग गर्नुपर्ने धारणा सकीले व्यक्त गरिन् । नेपाल बाहेकका ९ राष्ट्रबाट आफ्नो उत्पादनको प्रवद्र्धन गर्नलाई व्यवसायीहरू उपस्थित हुनुले यो एक्स्पोले क्षेत्रीय व्यापारलाई प्रवद्र्धन र विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरा उनले बताइन् ।

 

समृद्धिको लागि बहुपक्षीय कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध, अधिकारको सुनिश्चितता सहितको राजनीतिक स्थिरता र दिगो विकासलाई केन्द्र बनाएर गरिने यस्ता एक्स्पोले बहुपक्षीय व्यापारिक सहकार्यलाई बलियो बनाउने विश्वास उनले व्यक्त गरिन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नोबेल शान्ति पुरष्कार विजेता आङ सान सुकीको उपस्थितिले नेपालका सम्पूर्ण व्यवसायी जगतमा प्रेरणा पैदा भएको बताए । नेपालको अर्थतन्त्रलाई उकास्ने र सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उनले उल्लेख गरे ।

चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, चिन, भारत, जापान, कोरिया, मलेसिया, म्यानमार, पाकिस्तान र थाइल्यान्डका गरी १९० वटा स्टलहरू रहेको कुरा उनले जानकारी दिए । नेपालको व्यापारलाई प्रवद्र्धन गर्ने, नेपालको निर्यात बढाउने, वैदेशिक लगानीलाई आकर्षण गर्ने र विभिन्न देशका उत्पादित वस्तुहरूको बारेमा नेपालीलाई जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनले बताए ।

उक्त कार्यक्रममा विभिन्न देशका राजदूतहरू, सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरू, नेपाल चेम्बर अफ कमर्ससँग आबद्ध देशैभरका व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया