प्रियंका र निक जोधपुरमा

एजेन्सी, मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको बिहे २ डिसेम्बरमा जोधपुरमा हुँदैछ । बिहेका लागि उनीहरू यतिवेला जोधपुरमा छन् ।

प्रियंका निकको बिहे पूजा, संगीत, मेहन्दी लगायतका कार्यक्रम गरी चार दिनसम्म चल्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसको तयारीसँगै संगीत कार्यक्रमका लागि बलिउड नृत्य निर्देशक गणेश हेग्डेसमेत जोधपुर पुगेका छन् ।

बिहेका लागि प्रियंकाकी आमा मधु चोपडा, बहिनी परिणिती चोपडा तथा परिवारका अन्य सदस्य जोधपुर पुगिसकेका छन् ।

त्यस्तै, निकको तर्फबाट उनका भाइ जो जोनास र उनकी प्रेमिका सोफी टर्नरसमेत अमेरिकाबाट जोधपुर आइपुगेका छन् । सोफी चर्चित अमेरिकी टिभी शृंंखला ‘गेम अफ थ्रोन्स’ मा सान्सा स्टार्कको भूमिका निर्वाह गरेकी थिइन् ।

अमेरिकी गायक तथा अभिनेता निक २६ वर्षका भए भने प्रियंका ३६ वर्षकी भइन् । प्रियंकाले हलिउडमा काम गर्नेक्रममा निकसँग भेट भएको थियो । उनीहरू सन् २०१७ को मेट गालामा पहिलोपटक सँगै देखिएका थिए । त्यसपछि उनीहरू प्रेमसम्बन्धमा रहेका समाचार बाहिरन थालेका थिए । यसबीचमा उनीहरू थुप्रै ठाउँमा सँगै भएका तस्बिर पनि सार्वजनिक भए ।

यसको केही महिनापछि भने सामाजिक सञ्जालमा प्रियंका र निकले खुलेरै एकअर्काका लागि कमेन्ट गर्न थाले । उनीहरू सँगै भारत पनि आए । उनीहरूले जुलाईमा प्रियंकाको जन्मदिन मनाउने क्रममा इंगेजमेन्ट गरेका थिए । तर, भारत फर्केर फेरि उनीहरूले भारतीय परम्पराअनुसार ‘रोका’ समेत गरे ।

प्रियंका निकको बिहे अहिले भारतसँगै अमेरिकामा समेत चर्चाको विषय बनेको छ । उनीहरूको बिहे जोधपुरको उमैद भवनमा हिन्दू संस्कारसँगै क्रिश्चियन परम्पराअनुसार पनि हुनेछ । यो भवन जोधपुरका रावपरिवारको हो । यसलाई तीन हिस्सामा बाँडिएको छ । एक हिस्सामा संग्रहालय, अर्कोमा ताज होटल र अर्कोमा राजपरिवारकै सदस्य बस्दै आएका छन् ।

प्रतिक्रिया