फ्रेन्डस र जावलाखेल बराकर, शेर्पा तेस्रोमा उक्लियो

काठमाडौं । रेलिगेसन विनाको लिगको पुछारमा रहेका दुई क्लब ग्रान्डमास्टर जावलाखेल युथ क्लब र एनआइबिएल फ्रेन्डस् क्लबले अंकको खाता खोलेका छन् । चौथो चरणको अन्तिम खेलमा बुधबार जावलाखेल र फ्रेन्डस ३–३ गोलको बराबरी खेल्दै लिगमा पहिलो अंक जोड्न सफल भएका हुन् । बराबरीपछि जावलाखेल १२औं स्थानमा उक्लँदा फ्रेन्डस १३औं स्थानमा रहेको छ । गोलअन्तरमा एनआरटी पुछारमा धकेलिएको छ । फ्रेन्डसका विकास लामा, फोफाना ब्राहिमन र धीरज श्रेष्ठले गोल गरे । जावलाखेलका अरुज सिंह, फोडे फोफाना र सुमन डंगोलले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निकै नै रोमाञ्चक प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेन्डसले खेलको २६औं मिनेटमा विकास लामाको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा अरुज सिंहले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

दोस्रो हाफको सुरुवाती सात मिनेटभित्र जावलाखेलले दुई गोल गर्दै फ्रेन्डसमाथि ३–१ ले अघि बढेको थियो । ४७ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–१ ले अघि बढाएका थिए । ५२औं मिनेटमा सुमन डंगोलले गोल गरेपछि जावलाखेलले खेलमा ३–१ को अग्रत बनाएको थियो । तर, ३–१ ले पछि परेपछि जावलाखेलले उत्कृष्ट खेल पस्कँदै खेललाई बराबरीमा ल्याउन सफल भयो ।

६८औं मिनेटमा फोफाना ब्राहिमनले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ८२औँ मिनेटमा धीरज श्रेष्ठले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
शेर्पाको लगातार तेस्रो जित

त्यस्तै अर्को खेलमा लगातार तेस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा शेर्पाले मछिन्द्र क्लबलाई २–० ले पराजित ग¥यो । शेर्पाका लागि आशीष गुरुङले २१ औं मिनेटमा अग्रता दिलाएका थिए । गोहा प्याट्रिक प्रिभटको कर्नरमा आशिषले हेडरमार्फत गोल गरेका थिए । त्यसअघि १७ औं मिनेटमा मच्छिन्द्रका अलवा एडिमोलाले वा भर्सेस वनमा गोल गर्न सकेनन् । उनको प्रहारलाई शेर्पाका गोलरक्षक किशोर गिरीबाट बचाएका थिए ।

शेर्पाले अग्रता लिएको दोस्रो मिनेटमै अग्रता दोब्बर पार्ने अवसर गुमायो । विश्वास श्रेष्ठको पासमा कर्ण लिम्बूको प्रहार दोस्रो बारबाट थोरै बाहिरिएको थियो । २७औं मिनेटमा नै कर्णको फितलो प्रहार गोलको दिशा लिन सकेन । पहिलो हाफमा शेर्पा १(० ले अगाडी रहेको थियो ।

दोस्रो हाफको सुरुवातमै मछिन्द्रले बराबरी गर्ने अवसर पायो । ५४ औं मिनेटमा खामिर गिल्सनले अजित गुरुङको पासमा गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिंदै मान्यता दिएनन् । शेर्पाका लागि ७४ औं मिनेटमा गोहाको प्रहारले पोस्टको दिशा लिन सकेन । ७३ औं मिनेटमा अलरीच सिवेको पासमा गोहाको हेडर फेरी बाहिर गयो ।

८२ औं मिनेटमा विसन गुरुङको क्रस पासमा निरज बस्नेतको हेडर पनि पोस्टभन्दा थोरै बाहिर गएको थियो । अन्ततः ८९ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । कर्णले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा फ्लिक हेडरमार्फत गोल गर्दै जारी लिगको व्यक्तिगत तेस्रो गोल गरे ।

यस जितसँगै शेर्पा अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । शेर्पाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोडेको छ । पराजित मछिन्द्र भने ४ खेलमा २ बराबरी र २ हारसँगै २ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको १२ अंक छ भने आर्मी शेर्पा समान १० अंक जोड्दै गोलअन्तरको आधारमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया