बलात्कार तथा यौनहिंसा रोक्नुपर्नेमा रेखाकाे जोड

सञ्जय सहनी, रौतहट । समाजमा बढ्दो यौनहिंसा र बलात्कारजन्य अपराध रोक्न राज्यले प्रभावकारी कदम चाल्न अभिनेत्री रेखा थापाले जोड दिएकी छन् । रेखा फाउन्डेसनको अध्यक्षसमेत रहेकी थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई राज्यबाट कारबाही नहुनु अत्यन्तै चिन्तनीय भएको दुखेसो पोखिन् ।

उनले भनिन्, ‘निर्मला एउटा ज्वलन्त उदाहरण मात्र हुन् । हाम्रो मुलुकमा दिनदिनै कैयौँ चेलीबेटी बलात्कारको सिकार भई अनाहकमा ज्यान गुमाउन विवश भए पनि राज्यद्वारा त्यस्ता अपराधी नसमातिनु दुःखद् छ ।’ हिंसा र बलात्कारजन्य घटनाले प्रश्रय पाउनुमा राज्यको कानुनको उचित कार्यान्वन गर्न राज्यले तदुरुकता नदेखाएको उनले बताइन् ।

‘छोरीका निम्ति स्वर्णिम अभियान एवं बेटी बचाऊ, बेटी पढाऊ’ प्रदेश सरकारको कार्यक्रमअन्तर्गत फाउन्डेसनद्वारा बुधबार रौतहट सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले यौनजन्य अपराध रोक्न राज्य कठोर बन्नुपर्ने जिकिर गरिन् । छोरीमाथि हुने विभिन्न खाले आपराधिक गतिविधिको प्रमुख कारण अशिक्षा एवं ‘सेल्फ डिफेन्स’ को क्षमता चेलीहरूमा नभएका कारण यस्ता अपराधहरू बढेकोमा अभिनेत्री थापाले चिन्ता व्यक्त गरिन् ।

उनले भनिन्, ‘चेलीबेटीहरू पहिला आफू के हो चिन्नु प¥यो । छोरी भएर स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार के हो ? छोरी भएर जन्मिँदा उसको जात धर्म त हुँदैन, जात धर्म जन्मेपछि समाजले दिने उपहार हो, छोरीलाई आत्मनिर्भर बन्ने अधिकार हो कि होइन ? म पढ्छुभन्दा भन्दै उसलाई बिहे गराइन्छ ।’
चेलीबेटीको पढ्नका लागिसमेत स्वतन्त्रता नभएको तर्क गर्दै उनले भनिन्, ‘के उनीहरूलाई आत्मजागरण, आत्मसम्मान एवं आत्मनिर्भर हुने अधिकार छैन ?’ नेपाली समाजमा छोरीलाई बाँच्ने अधिकार सही ढंगले कार्यान्वयन हुन नसक्नुमा दुःखद् पक्ष भएको भनाइ राखिन् ।

उनले आत्मनिर्भर र आत्मरक्षाका लागि चेलीलाई दक्ष बनाउनका लागि डाडुपन्यु दिनुभन्दा पहिला हातमा कलम र किताब दिई विद्यालयको अध्ययनमा पठाउनुपर्ने जिकिर गरिन् । उनले भनिन्, ‘शिक्षाबाट मात्रै आत्मनिर्भर बन्न सकिन्छ । यसले मात्रै छोरीमाथिको हिंसा न्यूनीकरणमा सघाउ पुग्छ ।’ थापाले छोरी शिक्षित भए मात्रै परिवार सुखी हुनुका साथै बालविवाहको अन्त्य हुने एवं परम्परागत सोचबाट बाहिर निस्किँदा शिक्षित समाज बन्ने विचार व्यक्त गरिन् ।

मानव सूचांकमा सबैभन्दा पछि परेको रौतहट निर्वाचन क्षेत्र –२ मा भइरहेको बालविवाह, छोरीमाथि गरिने हिंसालाई बन्द गर्नका लागि ‘स्वर्णिम अभियान, बेटी बचाऊ बेटी पढाऊ’ सम्बन्धी संकल्प पत्र आजबाट परोहा नगरपालिकाको लौकाहाबाट सुरु भएको छ । उक्त अभियानलाई सफल बनाउन सम्पूर्ण नागरिकलाई उनले आग्रह गरेकी छन् ।

प्रतिक्रिया