बंगलादेशसँग शरणार्थी आक्रोशित

एजेन्सी, कोक्स बजार । आफ्नो पहिचानको माग गर्दै बंगलादेशका शरणार्थी शिविरमा बसिरहेका रोहिन्जा शरणार्थीले सोमबार प्रदर्शन गरेका छन् । आफ्नो जातिलाई रोहिन्जाका रूपमा बंगलादेशले स्वीकार गर्नुपर्ने र बंगलादेशी अधिकारी तथा सहायता एजेन्सीहरूले आफ्ना परिवारका विवरण म्यानमारलाई दिन बन्द गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

प्रदर्शनका कारण बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेका शरणार्थी शिविरका कैँयौँ बजार बन्द गरिएका थिए । गैरसरकारी समूहसँग काम गरिरहेका रोहिन्जा र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तले पनि प्रदर्शनलाई समर्थन गर्दैै आफ्नो जागिर छोडेको बताइएको छ ।

‘रोहिन्जा शब्द एकदमै महत्वपूर्ण छ किनभने हाम्रो परिचयका कारण हामी सताइएका छौं,’ प्रदर्शनमा उत्रिएका शरणार्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । म्यानमारमा ‘रोहिन्जा’ शब्दलाई प्रतिबन्ध गरिए पनि बंगलादेशमा यो शब्द प्रतिबन्ध गर्न नहुने सो विज्ञप्तिमा भनिएको छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारमा गत वर्ष फैलिएको हिंसापछि सात लाखभन्दा बढी अल्पसंख्यक रोहिन्जा मुसलमान छिमेकी बंगलादेशमा शरणार्थी जीवन बिताउन बाध्य भएको राष्ट्रसंघका विभिन्न एजेन्सीहरूले बताएका छन् । सन् २०१८ को अगस्ट २५ का दिन विद्रोही रोहिन्जाहरूले एकैपटक २० वटाभन्दा बढी प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारी सेनाले गरेको प्रतिक्रियाका कारण अल्पसंख्यक रोहिन्जाहरू भागेर छिमेकी बंगलादेश पुगेका हुन् ।

रोहिन्जाले आफूहरू म्यानमारको पश्चिमी रखाइन राज्यको आदिवासी भएको दाबी गर्दै आए पनि म्यानमार प्रशासन र कतिपय नागरिकले भने उनीहरूलाई भारतीय उपमहादेशबाट आएका गैरकानुनी आप्रवासीका रूपमा लिने गरेका छन् । म्यानमारका सन् १९८२ मा ल्याइएको कानुनले रोहिन्जालाई नागरिकता प्रदान गर्न बन्देज लगाएका कारण धेरैजसो रोहिन्जा राज्यविहीन छन् । त्यसैगरी म्यानमारका अन्य अल्पसंख्यकहरूलाई पनि म्यानमारको सदस्यका रूपमा लिइँदैन । म्यानमार सरकारले त रोहिन्जा शब्द प्रयोग गर्न पनि इन्कार गर्ने गरेको छ । रोहिन्जा भन्दा उनीहरूले पहिचान पाउने भन्दै म्यानमार सरकारले रोहिन्जालाई ‘बंगाली’ भन्ने गरेको छ ।

पहिचान गर्न सजिलो हुने र सहायता वितरण सजिलो हुने भन्दै बंगलादेशले शरणार्थी शिविरमा बसिरहेका शरणार्थीलाई स्मार्ट कार्ड स्वीकार गर्न आग्रह गरिरहेको छ । स्मार्ट कार्डले शिविरमा बसिरहेका शरणार्थीलाई रोहिन्जाभन्दा पनि बलपूर्वक विस्थापन गरिएका म्यानमार निवासीका रूपमा परिचित गरेको छ । युएनएचसिआरले शरणार्थीको बायोमेट्रिक डाटा र कागजातको कपी संकलन गर्ने योजना गरेको प्रति पनि प्रदर्शनकारीले सरोकार राखेको रोयटर्सले उल्लेख गरेको छ । युएनएचसिआर र बंगलादेशी सरकारले आफूहरूको डाटा म्यानमारलाई उपलब्ध गराउने हो कि भन्ने चिन्ता उनीहरूमा रहेको बताइएको छ । उनीहरूले त्यसरी उपलब्ध गराइएको डाटा म्यानमारले आफूहरूविरुद्ध प्रयोग गर्नसक्ने आशंका पनि व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

शरणार्थी शिविरमा बसिरहेको रोहिन्जाको प्रदर्शन र चिन्ताबारे जवाफ दिन तत्काल कुनै पनि बंगलादेशी प्रशासन उपलब्ध नभएको बताइएको छ । युएनएचसिआरका एक प्रतिनिधि फिरास अल–खातिबले डाटा प्रमाणिकरण प्रक्रियाका लागि मात्रै संकलन गरिएको बताएका छन् । उनले त्यसरी संकलन गरिएका डाटाले रोहिन्जा शरणार्थीलाई राम्रो सुरक्षा दिन र बंगलादेशमा पाइने सुविधा सजिलो रूपमा प्राप्त गर्न सजिलो हुने पनि उनको जिकिर रहेको छ । ‘यो देश परिवर्तनसँग सम्बन्धित छैन,’ उनले बताए । उनले डाटा युएनएचसिआर र बंगलादेशले संयुक्त रूपमा राखेको समेत बताएका छन् । न्याय, नागरिकता र आफ्ना वास्तविक गाउँहरूमा जान र जमिन प्रयोग गर्न पाउने सुनिश्चितता नभएसम्म देश परिवर्तन गर्ने योजनाअन्तर्गत शरणार्थीहरू म्यानमार फर्कन मानिरहेका छैनन् ।

म्यानमाली सेना र बौद्ध धर्मावलम्बी सर्वसाधारणहरूले आफ्ना परिवारलाई कत्लेआम गरेपछि, आफ्ना गाउँ जलाएपछि र सामूहिक बलात्कार गरेपछि आफूहरू घर छोडेर भाग्न बाध्य भएको रोहिन्जा मुसलमानहरूको जिकिर रहेको छ । संयुक्त राष्ट्रसंघको म्यान्डेट प्राप्त अनुसन्धानकर्ताहरूले पनि म्यानमाली सेनाले नरसंहार प्रकृतीको काम गरेको र जातीय सफाया गरेको आरोप लगाउँदै आएका छन् । यद्यपि म्यानमारले भने आतंकवादीविरुद्ध मात्रै कारबाही गरिएको र सर्वसाधारणलाई केही नगरिएको भन्दै आफ्नो सेनामाथि लागेको आरोपको खण्डन गर्ने गरेको छ ।

प्रतिक्रिया