मंगल ग्रहमा ‘इन्साइट’ को सफल अवतरण

एजेन्सी, वासिंगटन । अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलोपटक मंगल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एउटा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ । ‘इन्साइट’ नाम दिइएको अन्तरिक्षयानले निकै जोखिमपूर्वक सो रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो । अवतरण गर्नुअघि त्यो यान प्रतिघण्टा २० हजार किलोमिटरसम्मको गतिमा उडेको थियो । सो रोबोटजडित यानको सहायताले मंगल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ ।

त्यो सफल भएमा मंगल ग्रह पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ । इन्साइट रोबोटले ग्रेनिच समयानुसार १९स्५३ बजे मङ्गल ग्रहमा अवतरण गरेको थियो । अवतरण गर्दा इन्साइट रोबोटले उद्विग्न भएर प्रतीक्षा गरिरहेका वैज्ञानिकहरूलाई शृंखलाबद्ध रूपमा सूचना पठाएको थियो ।

मंगल ग्रहमा इन्साइटले सफलतापूर्वक अवतरण गरेको र त्यो सकुशल रहेको पुष्टि भएपछि क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा वैज्ञानिकहरूले हर्षोल्लास गरेका थिए । ‘इन्साइट’का परियोजना प्रमुख टम होफ्म्यानले अन्तरिक्षयान अवतरण गर्ने बेला आफ्नो सासै रोकिएला जस्तो लागेको प्रतिक्रिया दिए ।

‘यो एकदमै अविश्वसनीय रूपमा भावुक बनाउने क्षण थियो । म र यहाँ भएका हामी सबैजसो व्यक्ति सात वर्षदेखि यो काममा लागिरहेका छौँ । इन्साइट अवतरण गर्ने सात मिनेटको अवधिमा त मेरो मुटु नै रोकिए जस्तो भयो ।’ अवतरण भएलगत्तै त्यो अन्तरिक्ष यानले मंगलग्रहको सतहको आफ्नो पहिलो तस्बिर पठाइसकेको छ । तस्बिरमा मंगल ग्रहको अव्यवस्थित भूबनोट देखिएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वैज्ञानिकहरूलाई बधाई दिएको बताइएको छ ।

इन्साइट रोबोट यतिबेला मंगल ग्रहको भूमध्यरेखानजिक रहेको फराकिलो समथर भूभाग एलिसियम प्लानिसियामा रहेको बताइएको छ । अवतरण गर्नुअघि इन्साइट २० हजार किलोमिटर प्रतिघण्टा सम्मको गतिमा उडेको थियो । त्यो यान प्याराशुट र रेट्रो रकेटको सहयताले उत्रिएको थियो । त्यसमा भूकम्प र जमिनमुनिको तापक्रम नाप्ने कैयौँ युरोपेली उपकरणहरू समेत रहेका छन् ।

प्रतिक्रिया