रिडी–पोखरा सडक चाडै बन्छः तिमिल्सिना

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुंखदेउरालीमा भएको एक कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडीदेखि पोखरासम्मको सडक यस वर्षदेखि नै राष्ट्रिय राजमार्गको रूपमा निर्माण थालिने जानकारी दिएका छन् ।

नेपालकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्यमा परेको पर्वतको सेतीवेणी हुँदै पोखरासम्म पक्की सडक पु¥याउने लक्ष्यसहित काम सुरु हुने भएको हो । गुल्मीको रिडी, पर्वतको सेतीवेणी हँुदै पोखरासम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा परेको र अहिले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम यसै वर्ष सुरु हुने अध्यक्ष तिमिल्सिनाले बताए ।

तिमिल्सिनाका अनुसार डाँडैडाँडा सेतीवेणीदेखि पोखरा जोड्ने सडक निर्माण गर्ने २० वर्ष पुरानो योजना रहेको र यसपटक राष्ट्रिय योजनामा समावेश गरी कालोपत्रे सडकमा सरर सेतीवेणी–पोखरा पु¥याउने योजनाले सफलता पाउने बताए ।

सेतीवेणी–पोखरासम्म डाँडैडाँडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखराजस्ता धार्मिक र पर्यटकीय क्षेत्रसमेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रूपमा समेत विकास गर्न सकिने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनाको भनाइअनुसार सेतीवेणीदेखि पर्वतको लुंखु, आर्थर, राम्जा हुँदै पोखरासम्म कच्ची सडकले जोडिएको र अबको बजेट स्तरोन्नति र कालोपत्रेका लागि काम हुने बताएका छन् । उक्त सडकमा साइकल लेनसमेत निर्माण गरी पोखरादेखि पर्यटक ल्याउन सकिने योजना पनि उनले बताए ।

प्रतिक्रिया