कोटेश्वर, कलङ्की सडकको निर्माण सम्पन्न

काठमाडौँ । कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरेको हो ।

“सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह लगाउने काम भइरहेको छ”, उनले भने, “सडक चिन्ह सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ । सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रोचरणको कालोपत्रे भएको योजनाले बताएको छ । दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह लगाइएको हो । अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम भइरहेको छ । उनले भने, “केही दिनमा यसको सम्पूर्ण कार्य सकिन्छ ।

यो सडक खण्डमा चिनियाँ सरकारले जिम्मा लिएको काम सकिँदा नेपाल सरकारले जिम्मेवारी लिएको काम कतै अघि बढेको छ, भने कतै अघि बढ्न सकेको छैन । आठ लेन सडक भन्दा बाहिर दुबैतर्फ एकएक लेनको सर्भिस ट्र्याक(सेवा सडक) निर्माण नेपाल सरकारले जिम्मेवारी लिएको हो । यसमा केहि स्थानमा मात्र काम अघि बढेको छ ।

सर्भिस ट्र्याकमा पर्ने घर टहरा नहट्दा कतिपय ठाउँमा काम हुन सकेको छैन । यो सडकमा १० वटा आकाशे पुल छन् । चिनियाँ सरकारले जिम्मेवारी लिएका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ । उनले भने , “नेपाल सरकारले गर्ने भनिएका आकाशे पुलमा कतै काम अघि बढे भने कतै ठेक्काको प्रक्रियामा छ । चारवर्ष पहिले ४० महीनामा निर्माण सम्पन्न गर्ने गरेर सडक निर्माण शुरु भएको थियो ।

गतवर्ष नै सक्ने गरेर नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा समयमा काम नसकेको जनाएको छ । त्यसपछि सरकारले एकवर्ष अवधि थप गरेको थियो । थप भएको अवधि (आगामी डिसेम्बर) भित्रै सरकारलाई हस्तान्तरण गरिने योजना रहेको छ । नेपालमा पहिलो पटक बनेको ‘अण्डर पास’(भूमिगत सडक) लाई यो सडकको विशेषता मानिएको छ । भूमिगत सडक खसी बजारचोकदेखि कलङ्कीसम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेको छ ।

सडकको मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ । निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुबै छन् । सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ सरकारले कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माण गर्न इच्छा देखाइसकेको छ ।

सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएको योजनाले जनाएको छ । पाइपलाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिछ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा ढिलाइ भइरहको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा रहेका घरटहरा भने अझै हटेका छैनन् ।

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्र्याक समेत गर्दा सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक छन् । जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । दश दशमलव ४ किलोमिटरको उक्त सडकमध्ये सात दशमलव छ किलोमिटर काठमाडौँ र दुई दशमलव आठ किलोमिटर सडक ललितपुरमा पर्छ ।

नगर प्रहरी थप्दै ललितपुर

ललितपुर महानगरपालिकाले ५० नगर प्रहरी थप गर्ने भएको छ । जनशक्ति पर्याप्त नभएकाले थप गर्न लागिएको नगर प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । ललितपुरका धेरै स्थानमा ट्राफिक व्यवस्थापनको खाँचो भएकाले त्यसका लागि थप नगर प्रहरी आवश्यक छ । उहाँले भन्नुभयो, “महानगरपालिका भइसकेपछि आवश्यक पर्ने जनशक्ति राख्न हामी लागेका छौं ।

अहिले २३ जना नगर प्रहरी कार्यरत रहेको महानगरपालिकाले जनाएको छ । भवनको सुरक्षा, दमकल सञ्चालनलगायतका धेरै जिम्मेवारी उनीहरुमाथि थपेको छ । उहाँले भन्नुभयो, “नगर प्रहरीको सङ्ख्या बढाएर उनीहरुलाई थप जिम्मेवारी दिइनेछ ।”

महानगरपालिकामा कार्यरत नगर प्रहरीले पटक÷पटक जनशक्ति अपर्याप्त भएको बताउँदै आएको थियो । महानगरपालिकाको भवन सुरक्षा, महानगरभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षा, सडक व्यवस्थापन, न्यायिक समितिको निर्णय कार्यान्वयनको जिम्मेवारी नगर प्रहरीको हो । दमकलका लागि छुट्टै जनशक्ति नहुँदा केही वर्षदेखि नगर प्रहरीले नै महानगरपालिकाको चार दमकल सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया