लघुकथा सुगन्ध विमोचित

काठमाडौं । ७४ जना नेपाली लघुकथाकारले लेखेको लघुकथा संग्रह ‘लघुकथाको सुगन्ध’ सार्वजनिक भएको छ । समसामयिक राजनीति, सामाजिक, सांस्कृतिक तथा दैनिक जीवनसँग सरोकार राख्ने लघुकथा उक्त संग्रहमा समेटिएका छन् ।

नमस्ते आधुनिक लघुकथा मञ्च फेसबुक समूहले आयोजना गरेको उक्त कार्यक्रममा तुलसीहरि कोइरालाको कृति समीक्षा गरेका थिए । प्रकाशक दिलीप साह, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले संग्रहमा चोटिला र सान्दर्भिक सामग्री रहेको भनाइ राखेका थिए ।

मञ्चका एडमिन उद्धवप्रसाद प्याकुरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा शुष्मा मानन्धर, रमेश भट्टराई पुजारी, रञ्जुश्री पराजुली, तीर्थराज भट्ट, मन्दिरा मधुश्री, जयदेश श्रेष्ठ, उमा सिजापति, सिताराम नेपाल, सुरेश गौतम, निमग्ना घिमिरे, हरि पौडेल, हरिहर दाहाल, हेम पोखरेल, रामकुमार पण्डित क्षेत्री, टंकबहादुर आले मगर र कात्यायनले आफ्ना रचना वाचन गरेका थिए ।

नमस्ते आधुनिक नेपाली मञ्च नामक फेसबुक समूहमा आबद्ध लघुकथाकारका रचना समेटिएको यस कृतिमा ७४ जना लघुकथा सर्जकका रचना समावेश गरिएको छ । विमोचन समारोहमा मञ्चका एडमिन डा. पुष्करराज भट्टले लघुकथाको आयाम फराकिलो हुँदै गएको धारणा व्यक्त गरेका थिए । उनले नेपाली समाजका विविध पक्ष र विषयलाई लघुकथाकारले कृतिमार्फत चर्चा गरेको बताए । उनले भने, ‘नेपाली लघुकथाको दायरा फराकिलो बन्दै गएको छ । यसले पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य माध्यमको उपयोग गर्दै देशव्यापी रूपमा विस्तार भइरहेको छ ।’

त्यस्तै, एडमिन घनश्याम डल्लाकोटीले लघुकथाको क्षेत्र नेपालमा विस्तारित हुँदै व्यापक बन्दै गएको बताए । विमोचित कृतिको सम्पादकमा डा. पुष्करराज भट्ट, उद्धव प्याकुरेल एवं घनश्याम डल्लाकोटी रहेका छन् ।

प्रतिक्रिया