यस्तो छ, रणवीरको फस्टलुक्स

काठमाडौं । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको द्वन्द्वप्रधान चलचित्र ‘रणवीर’ को फस्टलुक सोमबार सार्वजनिक गरिएको छ । आगामी १८ माघबाट देशव्यापी रिलिजको तयारीका रहेको यो चलचित्र निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

अभिनेता सुशिल सिटौलाको चरित्रलाई केन्द्रित गरेर चलचित्रका दुईवटा फस्टलुक्स नेपाली र अंग्रेजी शीर्षकमा सार्वजनिक गरिएको हो । फस्टलुकमा अभिनेता सिटौलाको एकल फोटो रहेको छ ।

अभिनेता सुशिलले यो चलचित्रको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । करिब नौ महिना नियमित जिम गरेर आफूले तौलसँगै शारीरिक सुंगठनसमेत यही चलचित्रको लागि बनाएको पनि सुशिलले जनाए ।

यो चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्टलुक्सकै सुशीलको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरिएको हो । आफूहरुले १८ माघमा रिलिजको समय गत असारमा लिएर प्रचारमा उत्रिएकाले यो चलचित्र सोही मितिमा आउने अर्की निर्माता गोमा विष्टले जानकारी दिइन् ।

चलचित्र एक्सन प्रधान कथावस्तुमा आधारित रहेको निर्देशक सिंहले दाबी गरे । चलचित्रमा अभिनेता सुशिलसँगै अभिनेता सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, भोलाराज सापकोटा, शुभेच्छा खड्का, टीका पहारी, हरिहर शर्मा, जीवन भट्टराई, नरेश पौडेल, रवि गिरी, जगदिश रिजाल लगायतका कलाकारको छ ।

‘रणवीर’ करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी दिए । चलचित्रको दुईवटा गीतबाहेक बाँकी सबै छायांकनको काम सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । बाँकी रहेका दुई गीत १५ मंसिरबाट छायांकन गरिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया