कृषि व्यवसायतिर माओवादीका पूर्व लडाकु

रौतहट । ०५७ सालदेखि नेकपा माओवादी पार्टीमा लागेर राजनीतिमा संघर्ष गर्दै आएका रौतहटका युवानेता अब्दुल वाहिद बाहिद अन्सारी केही वर्षयता राजनीतिसँगै कृषि व्यवसायतिर मोडिएका छन् ।

भूमिगत कालमा पार्टीको सेनाको जिम्मेवारी बहन गर्दै राजनीति ‘ज्वाइन’ गरेका वाहिद बृहत् शान्ति सम्झौतापछि विद्यार्थी राजनीतितर्फ लागेका थिए । तत्कालीन अखिल क्रान्तिकारीको केन्द्रीय सचिवको अनुभव बटुलेका उनी हाल पार्टीको एकतापछि नेकपाको सक्रिय सदस्यसमेत छन् । तर, आजभोलि उनको परिचय यतिमा सीमित नभई फराकिलो बनेको छ ।

दैनिक हजारौँ युवा विदेश पलायन भइरहँदा वाहिद भने पार्टीले लिएको नीतिअनुसार ‘आर्थिक क्रान्ति’ तिर मोडिएका छन् । उनले जिल्लाकै चन्द्रपुर नगरपालिकामा नमुना कृषि फर्म सञ्चालनमा ल्याएपछि अरू युवा पनि उनको व्यवसायबाट पाठ सिकेर आफ्नै गाउँमा केही गर्न तम्सिन थालेका छन् ।

पछिल्लो चुनावमा समानुपातिकबाट केन्द्रीय सांसदको उम्मेदवार रहेका वाहिद पार्टीको बन्द सूचीमा भने अटाउन नसकेका नेता मध्ये एक हुन् । प्रदेश–२ को आठ जिल्लामा सबैभन्दा बढी रौतहटबाटै ३४ हजार समानुपातिक भोट पाएको पार्टीले कम भोट ल्याउने जिल्लाबाट सांसद पाउँदा उनी भने अटाउन सकेनन् ।

त्यसपछि उनी राजनीतिसँगै जीविकोपार्जन गर्न कृषि कर्मतिर छिरेका हुन् । लामो समयदेखि राजनीतिको जोडघटाउ सिक्दै आएको बाहिद तीन वर्षदेखि चन्द्रपुर नगरपालिका–६ महादेवमन्दिरस्थित अढाई बिघा जग्गामा कृषि फर्म सञ्चालन गर्छन् । ४० लाखको लागतमा आफनै कृषि फर्म सञ्चालनमा ल्याएका छन् ।

चन्द्रनिगाहपुर चोकबाट तीन किलोमिटर दक्षिणमा ‘चन्द्रपुर लाइभस्टक प्राली’ सञ्चालनमा छ । ‘राजनीति गर्नेले सधँै सुख, विलासमा जीवन बिताउँछन् भन्ने सोचिन्थ्यो, तर मेरो काम देखेर सबै जना छक्क पर्छन,’ उनले भने ।

वार्षिक प्रतिकठ्ठा तीन हजार रुपैयाँको भाडामा उनले अढाई बिघा जग्गामा एकीकृत कृषि व्यवसाय सञ्चालन थालेका छन् । समाजशास्त्रमा स्नातकोत्तर गरी थेसिस गरिरहेका ३५ वर्षीय युवा बाहिदको कृषिमा प्रवेश भएको हो ।

‘अहिले पनि राजनीतिमा सक्रिय छु, तर परिवार पाल्न पैसा चाहिन्छ,’ उनले भने, ‘त्यसैले समयलाई थप उपयोग गर्न कृषि फर्म सञ्चालन गरेको हुँ ।’

उनका बुबासँगै पैतृक सम्पति थियो, नगद उनले जोहो गरे । र, कृषिमा हाम फाले । उनले अहिले कुखुरा, माछा, राँगा तथा गाईपालन गरिरहेका छन् । उनको फर्ममा तीन हजार कुखुराको चल्ला अट्ने खोर, सय वटा राँगा र गाई अट्ने गोठ र १५ कठ्ठामा तीन वटा पोखरी निर्माण गरी माछापालन गरिरहेका छन् । ‘इमानदारको लागि सफल हुन समयलाग्दो रहेछ,’ उनले भने, ‘त्यसैले अर्को क्षेत्रमा पनि ट्राई गर्दैछु, खुसी छु, आफनै अफिस आफ्नै काम छ ।’

उनले कृषि फर्मको सबै काम आफैँ गर्ने गरेको बताए । घाँसको जोहो, दानापानी र गोबर सोहोर्नेसम्म काममा उनी खट्छन् । पाँच जना स्थानीयलाई पनि रोजगारी दिएका छन् । ४० दिनमा कुखुरा, ६ देखि ८ महिनामा राँगा, चार महिनामा माछा तयार भएपछि रौतहट, बारा, काठमाडौंसम्म उनी बेच्न पठाउँछन् । वर्षको सबै खर्च कटाएर उनी १० लाखसम्म आम्दानी गर्छन् ।

प्रतिक्रिया