दुई पुस्तक सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी राजन कार्कीले लेखेको ‘राजा, नव–बास्सा’ तथा शेखर ढुंगेलले लेखेको ‘अतीतका सम्झनाः भैरव दाइको सय रुपैयाँ र म’ नामक पुस्तक बजारमा आएको छ । राजधानीमा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले एक समारोहका बीच उक्त पुस्तक विमोचन गरिन् ।

अन्सारीले इतिहाससँग जोडिएर आएको पुस्तकलाई पाठकले पढ्ने बताउँदै राजनीतिक उतारचढावका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै पूरा हुन नसकेको जिकिर गरिन् ।

भैरवका नाता पर्ने शेखरले त्यसवेला सापट लिएको १ सय रुपैयाँलाई विश्लेषण गरी तयार पारिएको ‘भैरव दाइको सय रुपैयाँ र म’ नामक पुस्तकमा लेखकले अतीतका सम्झनाहरू कोर्ने जमर्को गरेका छन् । सो पुस्तकमा २३ लेख छन् ।
त्यस्तै कार्कीको राजा, नव–बास्सामा नेपालमा राजतन्त्रको समाप्ति तथा त्यसपछि प्राप्त गणतन्त्र तथा विश्वका नेताहरू महात्मा गान्धी, लिक्वान यु, माओत्से तुङ, लगायतको वर्णन गरिएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले शेखरजीले आफूसँग रु १ सय सापट लिएको वेला सयले आफ्नो जीवन गुजारा गर्न सक्ने स्मरण गर्दै अहिले पैसाको मूल्य अवमूल्यन भएकाले मानिसलाई जीवन जिउन कठिन भएको बताए ।

विश्लेषक डा। सुरेन्द्र केसीले लेखकद्वयले पुस्तकमा नेपालमा गणतन्त्र स्थापनापछि भित्रिएको विकृतिमाथि केलाउन खोजेको धारणा व्यक्त गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार तीर्थ कोइराला, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, साहित्यकार नरेन्द्रराज प्रसाईं, पुस्तकका प्रकाशक हिरेन्द्र ताम्राकारले राजतन्त्रको अन्त्यपछि नेपालको सीमाको रक्षा सरकारले गर्न नसकेको, नेपालको राजनीतिमा विकृति बढेको तथा नयाँ राजाको जन्म भएको भनाइ राखे ।

प्रतिक्रिया