भर्ना १० हजार, पढ्ने एक हजार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा १० हजार बढी विद्यार्थी भर्ना भएपछि व्यवस्थापनको ठूलो तनाव भएको थियो । तर, भर्ना भएकामध्ये १० प्रतिशत मात्रै विद्यार्थी आउँदा पनि क्याम्पसलाई सो तनावले अझै छाडेको छैन ।

क्याम्पसले गत असोजमा खुलाएको तीन वर्षे एलएलबी प्रथम वर्षमा आवेदन दिने विद्यार्थीकोे संख्या नै साढे १२ हजार नाघेको थियो । क्याम्पसको क्षमताभन्दा बढी विद्यार्थीको घुइँचो लागेपछि क्याम्पस प्रमुखले विद्यार्थी पढाउने ठाउँ र प्राध्यापकको अभाव हुने भन्दै निकै ठूलो चिन्ता व्यक्त गरेका थिए । सो चिन्ता अहिलेसम्म व्याप्त रहेको छ । विद्यार्थीको संख्या, कक्षा कोठा तथा प्राध्यापकको व्यवस्थापन हुन नसक्दा १० प्रतिशत विद्यार्थीले पनि राम्रोसँग पठनपाठन गर्न सकेका छैनन् ।

हाल, हजारौँ विद्यार्थी भर्ना भएको ल क्याम्पसमा करिब एक हजार विद्यार्थी मात्रै नियमित अध्ययनको लागि आउने गरेको पाइएको छ । क्याम्पसका अनुसार कुल १० हजार ८ सय ६१ विद्यार्थी भर्ना भएका छन् । तर, नियमित अध्ययनका लागि आउने विद्यार्थीको संख्या भने एक हजारदेखि १ हजार ५ सयसम्म पुग्ने गरेको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख बिएन पराजुली एलएलबीमा अत्यधिक विद्यार्थी भर्ना भए तापनि नियमित अध्ययनका लागि भने निकै कम आउने गरेको बताउँछन् । पराजुली भन्छन्, ‘तीनवर्षे एलएलबीमा प्रथम वर्षमा मात्रै भर्ना हुने विद्यार्थीको संख्या १० हजार पुगेको थियो । तर, नियमीत अध्ययन गर्न आउने विद्यार्थीको संख्या तुलनात्मक रूपमा अत्यन्त कम छ । भर्ना हुने, तर नियमित क्याम्पस नआउने प्रवृत्ति स्वभाविक विषय भइसकेको छ ।’

कानुन संकायमा भर्ना भएकामध्ये अधिकांश विद्यार्थीहरू अन्यत्र पेसामा आबद्ध हुने भएकाले नियमित क्याम्पस आउने गर्दैनन् । भर्ना भएका प्राय विद्यार्थी परीक्षामा मात्रै सहभागी हुने गरेको पराजुली बताउछन् । ‘क्याम्पसको दायित्वभित्र कक्षाकोठामा रहेका विद्यार्थीलाई पढाउनुपर्छ भन्ने हो । सबै, विद्यार्थी नियमित क्याम्पस आउनुपर्ने बाध्यकारी अवस्था छ्रैन ।

हजारौं विद्यार्थीलाई व्यवस्थापन गर्नु निक्कै ठूलो चुनौतीको कुरा पनि हो,’ उनले अघि भने, ‘क्याम्पसको क्षमता ५ सय मात्रै छ । नियमीत आएका विद्यार्थीलाई कसरी अध्यापन गराउने भन्ने चिन्ताले अझै छाडेको छैन ।’ हाल, क्याम्पसमा एलएलबी, एलएलएम र बिएलएलबीमा गरि झन्डै २० हजार विद्यार्थी अध्ययनरत छन् ।

त्रिविले तीन वर्षे एलएलबीका लागि गत साउन २२ गतेबाट एक महिनाका लागि फराम खुलाएको थियो । जसमा, ३ हजार ६ सय विद्यार्थी भर्ना भएका थिए । तर, उनीहरूको पढाइ सुरु भएसँगै क्याम्पस प्रशासनले पुनः असोज १ देखि १५ गतेसम्म भर्ना खोलेको थियो । जतिवेला झन्डै साढे १२ हजार विद्यार्थीले फारम भरेका थिए । जसमध्ये, साढे १० हजार विद्यार्थी भर्ना भएका छन् ।

कक्षाकोठा र प्राध्यापकको कमीका कारण पाँच सयभन्दा बढी विद्यार्थी पढाउने क्षमता नराख्ने भन्दै क्याम्पसले तत्काल त्रिवीसमक्ष समस्या समाधानको माग गरेको थियो । करिब एक दर्जन प्राध्यापकले हजारौँ विद्यार्थीलाई अध्यापन गराउनु क्याम्पसका लागि चुनौतीको विषय बनेको छ ।

हाल, नियमित आएका १ हजार ५ सय विद्यार्थीलाई चार वटा कक्षाकोठामा राखी अध्यापन गराउँदै आएको छ । भौतिक पूर्वाधार, कक्षाकोठा र अपुग प्राध्यापकको समस्याबीच करिब पन्ध्र सय विद्यार्थीलाई पठनपाठन गराउन कठिनाइ भएको क्याम्पस प्रमुख पराजुली बताउँछन् ।

हाल, क्याम्पसले त्रिविको सहकार्यमा दिवा कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । तत्काल भौतिक पूर्वाधार निर्माणको सञ्भावना नभएकाले दिवा सत्रको कक्षा सञ्चालन गर्न लागिएको हो । हाल, बिहानी सत्रमा सञ्चालन हुने चारवटा कक्षामा अध्यापन भैरहेको छ । पराजुलीले तत्काल स्थायी शिक्षकको व्यवस्था गर्न सम्भव नभएकाले ८ जना आंशिक शिक्षकमार्फत पठनपाठन सुचारु गर्ने तयारी गरिएको जानकारी दिए ।

कानुन शिक्षालाई व्यवस्थित बनाउने भन्दै नेपाल ल क्याम्पसमा ८ सय र बाहिरका क्याम्पसहरूमा ५ सयको कोटा निर्धारण गरिएको भए पनि विद्यार्थी संगठनको विरोध र दबाबपछि कानुनमा कोटा प्रणाली हटाइएको हो । हाल, उक्त मुद्दा सर्वाेच्चमा विचारधीन अवस्थामा छ । क्याम्पसमा ३ वर्षे एलएलबी, ५ वर्षे बिएलएलएबीका साथै २ र ३ वर्षे एलएलएमको पढाइ हुने गरेको छ ।

प्रतिक्रिया