पाल्पा रामपुरमा भिडियो एक्सरे सेवा ठप्प

बेझाड पाल्पा । रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ । भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ । दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँका नागरिकले आफ्नै गाउँ ठाउँकै अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महङ्गो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामी गुनासो गर्छन् । दुई महीनादेखि यहाँ रहेको भिडियो एक्सरे मेसिन चालु नभएको अस्पतालका निमिक्त प्रमुख विनेश झाले बताए । अस्पतालमा दबरन्दी छ, तर दरबन्दी अनुसारका डाक्टर नहुँदा भएका सामान पनि प्रयोगमा ल्याउन सकिएको छैन झाले बताए । भिडियो एक्सरे मेसिन सञ्चालन गर्न दरबन्दी अनुसारको डाक्टर नहुनु अर्कोतर्फ तालीम प्राप्त डाक्टरको अभावमा सेवा दिन नसकिएको उनले स्वीकार गरे ।

एक्सरे सेवा सुचारु गर्न सम्बन्धित निकायमा जानकारी गराए पनि अहिलेसम्म समस्याको समाधान हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालमा भिडियो एक्सरे सेवा नपाउँदा बिरामीले सास्ती खेप्नु परेको रामपुर नगरपलिका ५ बस्ने बुद्धिसरा दरैले बताए । उनि मुटुको समस्याले अस्पतालमा उपचार गराउन आएका थिए । डाक्टरले भिडियो एक्सरे गर्ने सल्लाह दिएपछि अन्यत्र क्लिनिकतिर धाउनु पर्दा निकै समस्या परेको बताए ।

एक्सरेकै लागि अस्पताल आएकी लीलादेवी खनाल पनि अस्तालले सेवा बन्द गरेको बताएपछि उउनि फर्किए । “भिडियो एक्सरे गर्नकै लागि आएको, मेसिन बन्द छ, भनेर डाक्टरले भनेपछि उपचार नै नगरी फकिर्यो” खनालले भने । दैनिकजसो भिडियो एक्सरे गर्ने बिरामीको यहाँ खाली हुदैन । भिडियो एक्सरेकै लागि मात्र टाढाटाढाबाट पनि बिरामी अस्पतालसम्म आउने गर्छन् । तर सेवा नपाउँदा त्यसै फर्कन बाध्य भएका छन् ।

अस्पतालमा दरबन्दी छ, तर डाक्टर नै नभएपछि सेवा नै बन्द हुँदा बिरामी मारमा परेको स्वास्थ्य शाखा रामपुरका संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताए । यस विषयमा स्थानीय तहले तत्काल समस्याको समाधान गर्ने उपायतिर त्यति चासो देखाएको पाइदैन ।

प्रतिक्रिया