खसोग्गी हत्याको नयाँ खुलासा : साउदी युवराजकै निर्देशन

एजेन्सी, इस्तानाबुल । टर्कीका एक जना स्तम्भकारले अज्ञात स्रोतलाई उद्धृत गर्दै साउदी पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी युवराज मोहम्मद बिन सलमानले फोनबाट आदेश दिँदै गरेको टेप अमेरिकी गुप्तचर निकाय सिआइएले पाएको तर पनि वास्ता नगरिएको जनाएका छन् ।

टर्कीको हुरियात न्युज वेबसाइटमा आएको समाचारका अनुसार साउदी अरेबियाको आलोचना गर्ने खसोग्गीलाई सकेसम्म चाँडो मौन गराउन उनले आदेश दिएका थिए । गएको मंगलबार अमेरिकी राष्ट्रपतिले पत्रकार खसोग्गीको हत्याका कारण अमेरिका र साउदी अरेबियाको सम्बन्धमा कुनै असर नपर्ने दुई देशबीचको सम्बन्ध आपसी व्यापारमा निर्भर हुने जनाएका थिए ।

त्यसको सर्वत्र आलोचना भइरहेकै वेलामा बिहीबार टर्कीको सञ्चार माध्यममा पछिल्लो कुरा आएको हो । पत्रकार खसोग्गीको गएको अक्टोबर २ तारेखमा विवाहको कागजात बनाउन जाने क्रममा इस्तानबुलस्थित साउदी दूतावासमा हत्या भएको थियो । सुरुमा सो हत्या साउदीअरेबियाले अस्वीकार गरे पनि पछि स्वीकार गरेको थियो ।

स्तम्भकार अब्दुलकादिर सेल्भीले स्रोतबाट उद्धृत गरेको सामग्रीमा साउदी युवराज मोहम्मद विन सलमानले अमेरिकामा रहेका आफ्ना भाइ तथा राजदूत खालेद बिन सल्मानसँगको फोन कुराकानीमा ‘तत्कालै खसोग्गीलाई मौन गराउनुपर्ने निर्देशन दिएको’ सम्बन्धी कुराकानी अमेरिकाले पाएको टेपमा रेकर्डमा उल्लेख छ ।

प्रतिक्रिया