कृषि ज्ञान केन्द्रमा न त काम छ, न तलब नै !

बनेपा । प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रका लागि सरकारले कार्यक्रम र बजेटको व्यवस्था नगर्दा त्यहाँ कार्यरत कर्मचारी अन्योलमा परेका छन् । कार्यक्रम र बजेट केहीको अख्तियारी नआएकै कारण काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हेर्ने गरी काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना भएको कृषि ज्ञानकेन्द्र यतिवेला सुनसान जस्तै बनेको छ । कार्यालयको संरचनाअनुसार कार्यालय प्रमुखसहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा करिब दुई हप्तादेखि १३ जना मात्र कर्मचारी हाजिर भइसकेको भए पनि कार्यक्रम नहुँदा कार्यालय आउने हाजिर गर्ने र फर्कने गर्नुपरेको कर्मचारी बताउँछन् ।

कार्यालय प्रमुख सात जना अधिकृत, तीन जना प्राविधिक सुब्बा, एक जना लेखापाल, एक जना खरिदार, तीन जना कार्यालय सहयोगी र एक जना चालकको गरी १७ जनाको दरबन्दी रहेको छ । जसमध्ये अहिले तीन जना अधिकृत र एक जना खरिदार गरी चार जनाबाहेक १३ जना कर्मचारी दैनिक कार्यालय आउने र हाजिर गरेर फर्कने गरिरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयबाट कृषि ज्ञान केन्द्रमा परिवर्तन भएपछि पहिलो कर्मचारीका रूपमा दैनिक कार्यालय सञ्चालन गर्दै आएका लेखापाल अखिल खड्काले अहिलेसम्म कार्यक्रम पनि नआएको र अख्तियारी केही नआएका कारणले सबै अन्योलमा रहेको बताए । ‘कार्यक्रम नहुँदा कार्यालय आउने हाजिर गर्ने र फर्किनेबाहेक केही भएको छैन’, खड्काले भने । कार्यक्रम र बजेट नहुँदा दैनिक प्रशासनिक खर्च र तलब खानसमेत नपाएको उनको भनाइ छ ।

मंसिर लाग्दा पनि तलब नआएको हुनाले धेरै समस्या व्यहोरिरहेको अधिकृत थर्क जिसीले बताए । तलब खान नपाउँदा विशेषगरी बाहिरबाट आउने कर्मचारीलाई धेरै समस्या भइरहेको छ । ‘प्रथम चौमासिकको कार्यक्रम अहिलेसम्म कुनै पनि गर्न पाइएको छैन, कार्यक्रम नहुँदा न त काम छ, न त तलब नै, खासगरी प्रशासनिक खर्च र तलब भत्ता नदिँदा कर्मचारी ठूलो मर्कामा परेका छन्’ । संविधानको संघीय संरचनाअनुसारको नयाँ कार्यालय भएकाले हाललाई कुनै पनि कार्यक्रम छैन ।

कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले अहिले नियमित रूपमा गर्ने काम साल्ट टे«डिङ कम्पनीमा किसानलाई मलखादको सिफारिस, कृषि सामग्री कम्पनीमा बिउबिजन र बिक्रेताको नवीकरण गर्नुपर्ने र विषादी बिक्रेताको नवीकरण जुन नियमित रूपमा गर्नुपर्ने काम मात्रै गर्दै आएको बताए । बाहिर किसानका बीचमा गर्नुपर्ने कार्यक्रम भने कुनै पनि सुरु नभएको उनको भनाइ छ । कार्यक्रम र बजेट नभएका कारण कृषि ज्ञान केन्द्रमा काम गर्ने आफूलगायत सबै कर्मचारीले साउनदेखि तलबसमेत खान नपाएको कार्यालय प्रमुख अधिकारीले गुनासो गरे ।

प्रतिक्रिया