२६ सूत्रीय मागसहित शिक्षकको धर्ना

बुटवल । २६ सूत्रीय मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रमअन्तर्गत सामाजिक विकास मन्त्रालयमा शुक्रबार धर्ना दिएका छन् ।

शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६ सूत्रीय मागसहित देशभरका शिक्षकहरू अहिले आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघ, प्रदेश–५ को अगुवाईमा शुक्रबार मन्त्रालयअगाडि चार घण्टा शिक्षकहरू धर्नामा बसेका हुन् । धर्ना दिनुअघि बुटवलको राजमार्ग चौराहबाट दबाबमुलक ¥याली निकालिएको थियो ।

राज्यले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, स्थानीय तहले बनाएको शिक्षा ऐन खारेज गर्नुपर्ने लगायतका मागसहित चरणबद्ध रूपमा आन्दोलन महासंघले गरिरहेको छ । सोहीअनुसार तेस्रो चरणको आन्दोलन स्वरूप मन्त्रालयमा धर्ना दिएको नेपाल शिक्षक महासंघ प्रदेश–५ का अध्यक्ष प्रेमनारायण भण्डारीले बताए । धर्नामा प्रदेश–५ का १२ जिल्लाका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

महासंघले शिक्षक काउन्सिलको व्यवस्था गर्न, शिक्षा सेवा आयोगलाई संवैधानिक स्तर बनाउन, संवैधानिक शिक्षा आयोग गठन गर्न, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका सूचीमा राख्न माग गरेको छ । महासंघका मागहरू पूूरा गर्न सरकार आलटाल गरे २१ मंसिरदेखि अनिश्चितकालीन हड्तालमा उत्रने महासंघले चेतावनी दिएको छ ।

महासंघले शिक्षासम्बन्धी स्थानीय तहमा आफूखुसी बनाइने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा १० वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने माग राखेको छ ।

तत्कालीन उच्च माविमा कार्यरत शिक्षकहरूको दरबन्दीको प्रबन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गरी उक्त दरबन्दीमा कार्यरत शिक्षकहरूको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्नेलगायत उनीहरूको माग छ ।

प्रतिक्रिया