सेती खोला आयोजना सामूहिक लगानीमा बन्ने

काठमाडौं । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । करिब पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच बिहीबार विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा आयोजित एक समारोहमा प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार उक्त आयोजनाबट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कास्कीको माछापुच्छ्र«े गाउँपालिकाको भराभुरी भन्ने स्थानमा आयोजना निर्माण हुनेछ । आयोजनामा स्थानीयवासीलाई समेत सेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको हो ।

प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरूले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रूपमा सहभागी गराएको जानकारी दिए । उनका अनुसार आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपुँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले लामो समयदेखि बगिरहेको सेतीलाई आर्थिक विकास र समृद्धिको लक्ष्य पहिल्याउने गरी आयोजना निर्माण सुरु हुन लागेकोमा खुसी व्यक्त गर्दै गाउँपालिकाको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

आयोजनाबाट उत्पादित विद्युत् कुल ६ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सबस्टेसनमा जोडिनेछ । हस्ताक्षरपछि संक्षिप्त मन्तव्य दिनुहुँदै प्राधिकरणका उपकार्यकारी निर्देशक सिंहले धेरै नागरिकलाई सहभागी गराएर निर्माण गर्न लागिएको आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गरे ।

प्रतिक्रिया