लालपुर्जा वितरण गर्ने तयारी

धनगढी । राष्ट्रिय आवास कम्पनी लिमिटेडले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका हजारौँ घरपरिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गाहरू भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयलाई व्यवस्थित गर्न लालपुर्जा वितरण गर्ने भएको हो ।

कम्पनी सञ्चालक समितिले फुटकर जग्गा बिक्रीवितरणसम्बन्धी विनियमावली २०६९ मा दोस्रो संशोधन गर्नुपर्ने देखिएको थियो । मस्यौदा स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा पेस गरी मन्त्रालयबाट परिमार्जनसहित मन्त्रिपरिषद्बाट गत ३१ भदौमा दोस्रो संशोधन स्वीकृत भएसँगै लालपुर्जा वितरण कार्य अघि बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष मोहन चौधरीले बताए ।

कञ्चनपुरको त्रिभुवनवस्ती क्षेत्रमा ३ सय ४४, परासन क्षेत्रमा ५ सय ७०, वाइसी विछवामा २० बिघा गरी कुल ९ सय ३६ बिघा १८ धुर जग्गामा बसोवास गर्दै आएका घरपरिवारलाई लालपुर्जा वितरण गर्न आवश्यक तयारी अघि बढाइएको चौधरीले बताए ।

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडामा बसोवास गर्दै आएका चार सय घरपरिवारलाई लालपुर्जा उपलब्ध गराउने तयारी कम्पनीले गरेको छ ।

जग्गा उपलब्ध गराउँदा भोगकर्तालाई मालपोतको न्यूनतम शुल्क लिने, भूमिहीन, सुकुम्वासी तथा विपन्न परिवारका सदस्यलाई मालपोत रजिस्ट्रेसन प्रयोजनका लागि कायम गरिएको न्यूनतम मूल्यमा २५ देखि ७५ प्रतिशतसम्म छुटको प्रावधान रहेको जनाइएको छ ।

जग्गा बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सिफारिसमा सम्बन्धित क्षेत्रमा विकास निर्माणमा लगाइने प्रावधानसमेत रहेको कम्पनी सचिव अश्विनी खड्काले बताइन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाभित्र दुई हजार परिवार तथा कैलालीको धनगढी उपमहानगरपालिकाभित्र करिब चार सय परिवारले जग्गाको स्वामित्व प्राप्त गर्नेछन् ।

प्रतिक्रिया