गरिबलाई खुसी बाड्दै कतार च्यारेटीको सहयोगमा आरडिसी

रौतहट । बेरोजगारी र आर्थिक कमजोरीले आफ्नो पारिवारिक समस्या झेल्न नसकेर निकै दुःखित देखिने रौतहट ईशनाथ नगरपालिका–३ औरैयाका हफिज खान बुधबार निकै खुसी देखिए । विगतमा चौक चौराहमा चिन्तित मुद्रामा टोलाएर बस्ने हफिज किराना पसलको सरसामन बिक्री वितरण गर्दै आप्mनै घरका सदस्यसँगै टोलमा व्यस्त र खुसी देखिएका हुन् ।

आफ्नै गाउँमा व्यवसाय सञ्चालन गर्ने अवसर पाएकोमा बेरोजगार हफिज हाल खुसी र उत्साहित साथै भावुक देखिनुको एउटै कारण थियो, उनले पाएको रोजगार । ६ छोराछोरीका अभिभावक हफिज परिवारको गाँस, वास, कपासलगायत उचित शिक्षा र वेलावेलामा स्वाथ्य उपचारका लागि आइपर्ने आर्थिक समस्या दूर हुने भएपछि हफिजसँगै उनको परिवारमा आजभोलि खुसी छाएको छ ।

कतार च्यारेटी नेपालको सहयोगमा ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा आय आर्जनका लागि व्यवसायी विकास परियोजनाअन्तर्गत हफिजले पाएका किराना आइटमको सामान र पसल सञ्चालन गर्न पाएको सहयोगले उनको दुःखको दिन टालिएको हो ।

‘आरडिसीले हाम्रो परिवारका लागि अल्लाह बनेर खडा भए, यस टिमको सबै सदस्यलाई अल्लाहले लामो आयु दिउन्, हामी दीनदुःखीको भविष्य उज्यालो बनाएको छ, यसप्रति हामी अभारी छौँ’ हाफिजले भावुक हुँदै भने ।

यस संस्थाले हाफिजलाई मात्र नभई जिल्लाका दर्जनाँै गरिबलाई आत्मनिर्भर बनाउनमा सहयोग गरेको छ । ईशनाथ नपासँग परोहा, गौर, राजदेवी, माधवनारायण नगरपालिका र यमुनामाई गाउँपालिका समेतका अति विपन्न गरिब दलित मध्ये १० जनालाई किराना पसल तथा अर्को १० जनालाई ठेला र पसलका लागि चाहिने सरसामानहरू हस्तान्तरण गरेको आयोजक संस्थाका अध्यक्ष पारस हुसैनले बताए ।

करिव २६ लाख ८० हजारको लागतमा आर्थिक स्रोत वृद्धिका लागि व्यावसायिक सहयोग गरेको हुसैनले बताए । जिल्लाका कैयाैँ दीनदुःखीको बेरोजगारी समस्या टाल्ने लक्ष्य बोकेको आरडिसीले सयकडाँै युवाहरूलाई रोजगार दिएपछि निकै कम समयमा चर्चाको शिखरमा पुगेको बुद्धिजीवीहरूको भनाइ छ ।

रौतहट जिल्लामा यस संस्थाले स्थानीय तहसम्मको पहुँचलाई सबल पक्ष रहेको र सरकारी निकायसँगको समन्वयमा विगतका दिनहरूमा गरेका कार्यहरूलाई स्मरण गराउँदै यस्ता कार्यक्रमले अतिविपन्न तथा गरिबहरूको आर्थिक स्थिति सुढृढ हुने विश्वास प्रजिअ गोविन्दप्रसाद रिजालले बताए ।

आर्थिक रूपमा पिछडिएका वर्गका लागि सरोकारवाला तथा दातृ निकायहरूले विषेश ध्यान दिनुपर्ने तथा यस वर्गलाई सक्रिय रूपमा आफ्नो जीवनस्तर सुधार गर्नका निम्ति अगाडि बढ्नका लागि कतार च्यारिटी नेपालका कार्यक्रम व्यवस्थापक सेख इर्शादले आग्रह गरे । साथै अगामी दिनहरूमा यस्ता कार्यक्रमहरू ल्याउन सकिने बताए ।

अगामी दिनहरूमा हस्तान्तरण गरिएका व्यावसायिक सहयोगको अनुगमन तथा मूल्यांकन गरिने र आवश्यक थप तालिम लाभार्थीहरूका लागि योजना गरिएको बताउँदै इर्शादले आवश्यक विकासका कार्यक्रमहरू ल्याउन पहलगर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया