सरकारी विद्यालयको प्रभाव निजीमा सर्यो

पर्वत । सरकारको शिक्षा क्षेत्रमा ल्याएको योजनाले पछिल्लो समयमा सरकारी विद्यालयको प्रभाव निजी विद्यालयमा परेको छ ।

केही समय पहिला सामुदायिक विद्यालयमा भन्दा सहरका निजी विद्यालयमा विद्यार्थीको चाप हुने गथ्र्याे । तर, पछिल्लो समय शिक्षामा सरकारले ल्याएको नयाँ कार्य योजनाले गर्दा निजी विद्यालमा प्रभाव परेको हो ।
विद्यार्थी संख्या कम भएपछि सरकारले दुई विद्यालयलाई गाभेर विद्यालयको पठनपाठन सञ्चालन गरिरहेको परिप्रेक्षमा निजी विद्यालय

बन्द भएर सामुदायिक विद्यालयमा गाभिने क्रम दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सुरु भएको हो । गाउँपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि निजी विद्यालय बन्द गरेर सामुदायिक विद्यालयमा आउन थालेका छन ।

गाउँपालिकाले १ कक्षादेखि ३ कक्षासम्म अनिवार्य अंग्रेजी माध्यममा पढाउन थालेको छ । चालु शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका ३२ सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाउन थालेको छ । अनिवार्य अंग्रेजी, विज्ञान र गणित तीन विषय बिद्यालयले विद्यार्थीलाई अंग्रेजी माध्यममा पढाइरहेका छन ।

सामुदायिक विद्यालयमा बिद्यार्थी नआउने र अंग्रेजी पढाउनकै लागि अभिभावकले बालबालिका बोकेर बजार झर्न थालेपछि एकैपटक सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाउन सुरु गरिएको गाउँपालिकाका गाउँ शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले बताए ।

‘सामुदायिक विद्यालय खाली हुँदै गएपछि जबर्जस्त सुधारका लागि विद्यालयहरूमा अंग्रेजी माध्यममा पढाउन थालेका हौँ’ उनले भने, ‘त्यसको प्रभाव अहिले नै देखिन थालेको छ, सामुदायिक बिद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

गाउँपालिकाले अंग्रेजी माध्यममा विद्यालयहरूमा पढाउन सुरु गरेपछि बिहादी–२ बर्राचौरको बिहादी बोर्डिङ स्कुल बन्द भएको छ भने वडा नं १ बाच्छाको जनकल्याण माविमा निजीका बिद्यार्थी आएपछि त्यहाँको बोर्डिङ पनि बन्द हुने अवस्थामा पुगेको छ ।

३ कक्षासम्म चलेको बिहादी बोर्डिङ यस वर्षदेखि बन्द भएको छ । विद्यार्थी धेरै नजिकैको आम्बारी माध्यमिक विद्यालयमा गएका छन् । केही अभिभावकले बजारमा पनि झरेका छन् । निजी विद्यालय बन्द भएपछि आम्बारी माविमा तल्लो कक्षामा बिद्यार्थीको चाप बढेको प्रधानाध्यापक गणेश पौडेलले बताए ।

प्रतिक्रिया