थ्रीस्टारको दोस्रो जित

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेलमा रुस्लान थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५(१ ले पराजित गरेको छ ।

खेलको नवौं मिनेटमा थ्री स्टारले सुरुवाती अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र दिपेन सिंहले निराजन खड्कालाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए । रन्जित धिमालले पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै अग्रता दिलाए ।

३० औं मिनेटमा सुनील बलको उत्कृष्ट कटब्याकमा थ्री स्टारका फरवार्डहरू गोल गर्न चुके । ६ यार्ड बक्सभित्र आएको पासलाई दुवै फरवार्ड रन्जन विष्ट र अजायी मार्टिन्सले भ्याएनन् । लगत्तै रन्जनले मार्टिन्सको पासमा पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न असफल रहे ।

दोस्रो हाफको सुरुवातमै थ्री स्टारले दोस्रो गोल थप्यो । ५१ औं मिनेटमा रन्जन विष्टले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको चलाखीपूर्ण पासलाई सुनील बलले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर फिनिस गरे । ७५ औं मिनेटमा ब्रिगेड ब्वाइजले अग्रता घटायो । रजत तिवारीले लिगको लगातार खेलमा पेनाल्टी क्षेत्रबाहिरबाट गोल गरे ।

नियमित समयको ६ मिनेट बाँकी रहँदा थ्री स्टारले फेरी २ गोलको अग्रता बनायो । डिफेन्सको गल्तीको फाइदा उठाउँदै रन्जनले वन भर्सेस वनमा सहजै गोल गरे । लगत्तै अन्तिम मिनेटमा निराजन खड्काले भलीमार्फत उत्कृष्ट गोल गरे । पेनाल्टी क्षेत्रबाहिर डिफेन्सले बल फुस्काएपछि निराजनले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षकले ठम्याउन सकेनन् ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा विक्रम लामाले पाँचौ गोल गरे । उनले सुनील बलको क्रसमा उत्कृष्ट हेडर गर्दै सुखद पुनरागमन गरे । जितसँगै थ्री स्टारले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । अंक तालिकामा २ खेलमा ६ अंक जोडेको थ्री स्टार शीर्षस्थानमा छ । दुवै खेलमा पराजित ब्रिगेड ब्वाइज अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया