गायन र अभिनयमा व्यस्त सम्झना

काठमाडौं । गीत संगीत क्षेत्रका कलाकारहरू दिन प्रतिदिन व्यस्त हुँदै गएका छन् । पहिलेको तुलनामा अहिले कलाकारको संख्यामा पनि वृद्धि भएको छ । केही वर्ष अघिसम्म क्यासेट तथा सिडीको प्रचलन व्यापक थियो । तर, पछिल्लो समय युट्युबको महत्व बढ्दै गएपछि क्यासेट तथा सिडीको महत्व घट्दै गएको छ । युट्युबको व्यापकता बढेसँगै कलाकारको पनि संख्या पनि बढ्दै गएको छ ।

आफैले गीत लेख्ने, संगीत भर्ने, गीत गाउने र आफँैले म्युजिक भिडियोमा समेत अभिनय गर्ने कलाकार प्रशस्तै भेटिन्छन् । गीत संगीतका सबै क्षेत्रमा एउटै व्यक्तिले शब्द, संगीत, आवाज तथा भिडियो सबैतिर देखिन थालेपछि कतिपय सफल भएका छन् भने कति लगानी डुबाएर बस्न बाध्य छन् ।

त्यत्ति मात्रै नभएर आफ्नै म्युजिक कम्पनी र गीत रेकर्ड गर्नलाई समेत स्टुडियो खोलेका कलाकार प्रशस्तै भेटिन्छन् । यस्तै, लोकदोहोरी क्षेत्रमा धेरै स्थानमा फड्को मार्दै छोटो समयमा चर्चाको शिखरमा पुगेकी गायिका सम्झना लामिछाने मगरले सांगीतिक यात्रामा छोटो समयमै निकै चर्चा कमाउन सफल भएकी छन् । प्रायः कलाकार उनले जस्तो छोटो अवधिमा चर्चा कमाउन र सफल गायिकाको रूपमा स्थापित भएको विरलै देखिन्छ ।

अर्घाखाँचीमा जन्मिएर उनले सानै उमेरदेखि गायनमा रुचि राखेकी लामिछाने काठमाडौं छिरेपछि मात्रै गायन यात्रा औपचारिक रूपमा सुरु गरेकी हुन् । घरमा पराल बारीमा बन्सो, फुल फुलेर पहेंलै भयो, यसै त डल्ली नाँच्छु हल्ली हल्ली, मायाले नबोली नबोली हँसायो जस्ता दर्जनाँै गीत सार्वजनिक भएपछि उनी एकाएक चर्चाको शिखरमा पुगिन् ।

गायनबाट कलाकारिता सुरु गरे पनि उनले यतिवेला आफैँले म्युजिक भिडियोमा अभिनयसमेत गर्न व्यस्त छिन् । त्यस्तै, उनले ‘सम्झना डिजिटल’ म्युजिक कम्पनीसमेत सञ्चालन गर्दै आएकी छन् । उनले उक्त कम्पनीमार्फत आफ्ना गीत र अन्य कलाकारका गीतसमेत बजारमा ल्याइरहेकी छन् । पहिलेको तुलनामा भन्दा अहिले उनी झन्झन् व्यस्त हुँदै गएकी छन् । उनले रोइला गीतसमेत गाएकी छन् ।

एकै दिनमा करिब चार–पाँचवटा गीत रेकर्ड गर्ने उनले जनाइन् । त्यसैगरी, एकै दिनमा दुई–तीनवटा गीतको भिडियोमा समेत अभिनय गरेको र काममा आफूलाई भ्याई नभ्याई भएको उनले बताइन् । अहिले उनी दुईवटा आफैँले गाएका रोइला गीतको सुटिङमा व्यस्त छन् । भिडियोको काठमाडौंस्थित रत्नपार्कमा आइतबार सुटिङ भएको छ । ‘दुईवटै गीत मैले पहिला नै बजारमा ल्याउने कोसिस गरेकी थिएँ, तर अलि व्यस्त र दसैँतिहारले गर्दा पनि मेसो नमिलेर अहिले एकैपटक सुटिङ भएको हो,’ उनले भनिन् ।

रोइला गीतमा खासै मोडल कोही पनि नहुने उनले सुनाइन् । उनले सुटिङका क्रममा भनिन्, ‘केटा र केटी दोहोरो साइडमा बसेर एकले अर्कालाई गीतमार्फत भनाभन गरिन्छ, तर अरूलाई आक्षेप लगाइँदैन । जो आफूसँग प्रतिद्वन्दी हुन्छ, उसैसँग मात्रै आपसमा बोलेको जस्तो कुरालाई गीतमार्फत उतारिन्छ ।’ रोइला दुई वटामध्ये एउटामा किरण चापागाईंले आफूलाई स्वरमा साथ दिएको र अर्कोमा दिपक गरंजा मगरले साथ दिएको लामिछानेले जानकारी दिइन् । गीतको भिडियो सुटिङ सकेपछि मात्रै दुईवटै गीतको शीर्षक कुन राख्ने भन्ने टुंगो लाग्ने उनले बताइन् ।

दुईवटै गीतको भिडियो निर्देशन प्रकाश भट्टले निर्देशन र छायांकन सुरेश श्रेष्ठले गरेका छन् । गीतमा नयाँपन केही नभएको र पुरानै परम्परा अनुसार शब्दमा उतारिएको लामिछानेको भनाइ छ । ‘हाम्रो देशमा केटाले केटी देखेपछि जिस्क्याउने चलन छ । त्यस्तै भाषा, मौलिक, संस्कृति र कथालाई एउटा गीतको शब्दमा समावेश गरी गीत रचना गरिएको छ ।’ अर्को गीतमा पनि गाउँघरमा हुने चालचलन र विषयवस्तुलाई नै उतारिएको उनले जिकिर गरिन् ।

भिडियोमा उनीसहति मोडल सिर्जना रेश्मी मगर, गायिका मैना रेश्मी मगर, गायिका डोल्मा लामिछाने मगर, पपगायिका भिमा लामिछाने मगर, गायिका तथा मोडल नमुना लामिछाने मगर, गायिका तथा डान्सर सलिना नेपाली, सोही गीतका गायक किरण चापागाईं र दिपक गरंजा लगायतका अन्य कलाकारको अभिनय छ ।

सुटिङ सकिएको एक हप्ताभित्रै एउटा गीतको भिडियो आफ्नै कम्पनीमार्फत सार्वजनिक गर्ने तयारी गरेको उनले बताइन् । त्यस्तै, अर्को गीतको भिडियो केही समयपछि सार्वजनिक गरिने छ । अहिलेसम्म बजारमा आएका आफ्ना गीत दर्शकश्रोताले मनपराइरहेको र अब आउने गीतले पनि त्यस्तै माया पाउने विश्वास लिएको उनले बताइन् ।

प्रतिक्रिया