शुक्लागण्डकीमा प्रदेशको विश्वविद्यालय

तनहुँ । गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री नरदेवी पुनलगायत सहभागी टोलीले बेलचौतारास्थित भानुभक्त क्याम्पस र वडा नं ९ स्थित घारीमा रहेको सार्वजनिक जग्गा अवलोकन गरेको हो ।

सार्वजनिक जग्गा अवलोकन गरेपछि मुख्यमन्त्री गुरुङले भने, ‘यस ठाउँमा रहेको सार्वजनिक जग्गा विश्वविद्यालय बनाउन उपयुक्त देखिएको छ ।’ उनले उक्त नगरपालिकाका प्रमुख, उपप्रमुख अन्य पदाधिकारी एवं स्थानीय जनसमुदायले यहाँको विकास निर्माणमा देखाएको उत्साहले आफूलाई खुसी तुल्याएको बताए ।

उक्त नगरपालिकाका प्रमुख किसान गुरुङले उक्त ओगट्ने मात्र नभइ उपयोगमा ल्याउने हो भने नगरपालिका र स्थानीयवासी सकारात्मक रहेको बताए । उनले नगरपालिका क्षेत्रभित्र करिब पाँच हजार रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिए ।

भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर थापाले भने क्याम्पसको अस्तित्व नै मेटिने गरी क्याम्पसको जग्गामा विश्वविद्यालय बनाउन नपाइने बताए । प्रदेश सरकारले गठन गरेको एक कार्यदलले भानुभक्त क्याम्पसलाई नै प्रदेशस्तरीय विश्वविद्यालयको रूपमा स्तरोन्नति गर्न उक्त स्थान उपयुक्त हुने ठहर गरी प्रतिवेदन बुझाएको थियो ।

क्याम्पस सञ्चालक समितिले भने सरोकारवालासँग छलफल नगरी प्रतिवेदन बुझाएको भन्दै प्रदेशस्तरीय विश्वविद्यालय बनाउन नदिने अडान लिएको थियो । सोही कार्यदलले उक्त नगरपालिकाको ८ स्थित तिब्बती शरणार्थी क्याम्पसँग रहेको करिब एक हजार ८ सय रोपनी, वडा नं ९ स्थित घारीमा रहेको करिब एक हजार ५ सय रोपनी जग्गासमेत विश्वविद्यालय सञ्चालनका लागि उपयुक्त हुने ठहर गरेको थियो ।

प्रतिक्रिया