बलात्कारीले उन्मुक्ति नपाऊन्

वीरगञ्ज महानगरपालिकामा एक दलित महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । महानगर–१८ भवानीपुर टोल सौराहाकी ४० वर्षीया दलित महिलालाई गाउँकै चारजना युवाको समूहले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार मात्र होइन्, बलात्कारीले भिडियो रेकर्ड गरेर उल्टै पीडितसँग बार्गेनिङ गरेको समाचार सार्वजनिक भएको छ । घटना ५ कात्तिकको भए पनि प्रहरीले अझै अभियुक्त पक्राउ गर्न सकेको छैन । पीडितले किटानी जाहेरी दिएको महिना दिन पुग्न लाग्दा पनि अभियुक्त पक्राउ गर्न प्रहरीले चासो नदेखाउनु र उता पीडित परिवारलाई मेलमिलापका लागि दबाब दिनुले घटनालाई पेचिलो बनाएको छ । सामाजिक लोक लाजका कारण बलात्कारको पीडा सहेरै बसेकी पीडितलाई पीडकले उल्टो भिडियो देखाएर बार्गेनिङ गर्न लागेपछि प्रहरी गुहार्नुपरेको घटनाक्रमले देखाएको छ ।

प्रायः बलात्कारका घटनामा पीडक डराउने गर्छन् । तर, रौतहटको यो घटनामा पीडितले नै डराउनुपर्ने स्थिति बनाइएको छ । देख्दा बलात्कारको एउटा घटना मात्र हो भनेजस्तो देखिने यस घटनाले अप्रत्यक्ष रूपमा तराई–मधेसका अझै जबर्जस्त कायम रहेको जातीय विभेदलाई उजागर गरेको छ । तराई–मधेसमा जातीय विभेदले बलियो जरा गाडेको छ । मधेसी समाजमा कथित तल्ला जातका लाई जे गरे नि हुन्छ, उनीहरूले डराएर, दबिएर नै बस्नुपर्छ भन्ने मनोविज्ञानले दरो जरा गाडेको छ । सिरहा, सप्तरी जिल्लामा यस्ता अमानवीय जातीय विभेदका घटना वेलावेला सार्वजनिक हुने गरेका छन् । केही पढेलेखेका दलितहरू भएका स्थानमा यस्ता घटनाले तत्काल विद्रोहको रूप लिन्छ र सार्वजनिक हुन्छ । मधेसमा अझै पनि दलिहरू राजनीतिक, शैक्षिक, आर्थिक सबै हिसाबले पछाडि पारिएका छन् । अधिकांश दलित समुदाय कथित माथिल्ला जातस“ग लड्दा न्याय पाउने कल्पना पनि गर्दैनन् । शक्ति, सामथ्र्य र पहुँच सबै कथित माथिल्लाकै हुन्छ भन्ने उनीहरूको विस्वास छ । अधिकांश अवस्थामा यस्तो देखिएको पनि छ । रौतहटको घटनामा पनि यही मनोविज्ञानले काम गरेका कारण पीडितले तत्काल उजुरी नगरेको वा घटना सार्वजनिक नगरेको हुन सक्छ । अर्को हो उल्टो महिलालाई दोषी देखाउने हाम्रो सामाजिक मनोविज्ञान ।

जे होस् ढिलै भए पनि म्यादभित्रै पीडित प्रहरी गुहार्न पुगेकी छन् । तर, प्रहरीले बलात्कार अनि त्यसैलाई देखाएर उल्टो पीडितसँग बार्गेनिङ गर्नुजस्तो जघन्य अपराधमा पनि घटनाको अनुसन्धानमा ढिलासुस्ती गर्नु सिंगो प्रहरी संगठनको लज्जाको विषय हो । एकातिर एकथरी गाउँघरमै मिलाउन दबाब दिने र अर्कोतिर प्रहरी ढिलासुस्ती गरेको देखिनुले दुवै पक्ष पीडकको प्रलोभनमा परेको प्रष्ट हुन्छ । यस घटनामा प्रहरीले तदारुकता नदेखाउने हो भने कथित दलितहरूको प्रहरी प्रशासनप्रतिको विश्वासमा ह्रास आउ“छ । न्यायको आस मरेर अन्याय सहनुपर्ने स्थिति आउनु भनेको भयंकर तुफान आउनुअघिको सन्नाटा हो भन्ने बुझ्न आवश्यक छ ।

प्रतिक्रिया