जेष्ठ नागरिकले पाए हर्लिक्स र ब्लांकेट

सल्यान । जिल्लाको शारदा नगरपालिका–३ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ६० वर्ष माथिका दलित र ७० वर्ष माथिका सबै जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

वडाको कार्यक्रम अनुसार शनिबार खलंगामा सम्मान कार्यक्रमको आयोजना गरेर वडा भित्रका ७० जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको वडाअध्यक्ष टोपबहादुर थापाले बताए ।

उनले सबै जेष्ठ नागरिकलाई सम्मान स्वरूप ब्लांकेट एक थान र एक हर्लिक्स वितरण गरिएको बताए । ‘हामीले वडा भित्रका जेष्ठ नागरिकहरूलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ ब्लांकेट र हर्लिक्स वितरण गरेका छौँ, अशक्त, बिरामी जेष्ठ नागरिकहरूलाई घरमा नै गएर सम्मान स्वरूप ब्लांकेट र हर्लिक्स बितरण गरेका हौँ’, उनले भने ।

जेष्ठ नागरिक अनुभवका खानी भएको उनको भनाइ छ । ‘जेष्ठ नागरिक अनुभवका खानी हुन्, उहाँहरूबाट हामीले सिक्नुपर्ने कुरा धेरै छ, उहाँहरूको निम्ति वडा कार्यालयले केही गर्न नसके पनि चिसो मौसम सुरु भएकाले ब्लांकेट वितरण गरेका छौँ, यसले चिसोमा उहाँहरूलाई केही राहत गर्नेछ,’ उनले भने ।

कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले संसार देखाउने बाउआमालाई हरेक सन्तानले सम्मान गर्न सक्नुपर्ने भन्दै वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने बताए । उनले समाज रूपान्तरणका लागि ज्येष्ठ नागरिकले गरेको गरिमामय भूमिकालाई सन्ततिहरूले कहिले पनि भुल्न नहुने कुरामा जोड दिए ।

नगरप्रमुख अधिकारीले नगरभित्रका जेष्ठ नागरिकहरूलाई नगरपालिकाले सम्मान गर्दै आएको बताए । कार्यक्रममा आन्तरिक लेखापरीक्षक चन्द्रप्रकाश शर्मा, जेष्ठ नागरिक मनोहर महर्जन लगायतले बोल्दै जेष्ठ नागरिकसँग रहेको सीप र दक्षतालाई समाजले उपयोग गर्नुपर्नेमा जोड दिए । वडासदस्य सूर्य भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य इन्द्रा भण्डारीले गरिन् ।

प्रतिक्रिया