विव्यसको मिलेमतोमा आर्थिक अनियमितता

झापा । झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका केही शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता हुँदै आएको तथ्य खुलेको छ ।

विद्यालयले गरेको आर्थिक कारोबारको अभिलेख अभिभावक सामेल भएको सामाजिक परीक्षण समितिमा आएसँगै कर्मचारी र समितिका पदाधिकारीको अनियमितता सतहमा आएको हो ।

विद्यालय व्यवस्थापन समितिको निर्णयपछि मात्र आर्थिक कारोबार सामाजिक परीक्षणका लागि पठाउने चलन भए पनि प्रधानाध्यापक विद्यासागर चौधरीले समितिबाट निर्णय नगराई परीक्षणका लागि पठाएपछि अनियमितता सार्वजनिक भएको हो ।

शिक्षक–अभिभावक संघको बैठकमा विद्यालयले गरेको खर्चको विषयमा छलफल हुँदा विद्यालयले गरेको अपत्यारिलो खर्चप्रति शिक्षक अभिभावक संघका अध्यक्ष लगायतका पदाधिकारीले नौ बुँदामा असहमति जनाएका थिए ।

विद्यालयले गरेको खर्च अनुमोदन गर्न लाग्दा शिक्षक–अभिभावक संघका अध्यक्ष रहने सामाजिक परीक्षण समितिले आपत्ति जनाउँदै विद्यालयले गरेको खर्चको हरहिसाब माग गरेको थियो । सो क्रममा अपत्यारिलो बिल भेटिएपछि समितिले विद्यालयले गरेको हरहिसाब पारदर्शी ढंगले पेस गर्न माग गरेको थियो ।

गत आवमा विद्यालयमा इन्टरनेट जडान गर्दा लागेको ५४ हजार रुपैयाँको बिलमा सामाजिक परीक्षण समितिले शंका गरेपछि विद्यालयका प्रधानाध्यापक र अध्यक्षले सो बिल रातारात परिवर्तन गरेको पाइएको छ । समितिले सो बिलमा शंका गरेपछि विद्यालयको लेखा राख्ने खातामा लेखिएको इन्टरनेट जडान वापतको ५४ हजार रुपैयाँलाई केरमेट गरेर टिपेक्स लगाउँदै २९ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

यता इन्टरनेट वितरक कम्पनीका प्रतिनिधि सोमनाथ न्यौपानेले आफूले २९ हजार रुपैयाँमा विद्यालयमा इन्टरनेट जडान गरेको र सोही रकम बराबरको बिल विद्यालयलाई दिएको भए पनि विद्यालयका सहायक प्रधानाध्यापक गुणनिधि लुइँटेलले बिल हराएको भन्दै पुनः सोही रकम बराबरको अर्काे बिल माग गरेपछि आफूले अर्को बिल दिएको बताए ।

तर, सहायक प्रधानाध्यापक लुइँटेलले दुई वटै बिललाई विद्यालयको इन्टरनेट जडानको खर्च भन्दै हिसाब मिलाएपछि सामाजिक लेखा परीक्षण समितिले आपत्ति जनाएको हो ।

पुस्तकालयका लागि खरिद गरिएको पुस्तकको बिलसमेत फर्जी भएको पाइएको छ । राजगढमा रहेको आचार्य पुस्तक पसलबाट पुस्तकालयका लागि पुस्तक नै नकिनी प्रधानाध्यापक चौधरीले फर्जी बिल बनाएर लगेको स्रोतले जनाएको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय झापाले सिआइटी कार्यक्रमअन्तर्गत ब्रान्डेड कम्प्युटर खरिद गर्न दिएको १ लाख ६० हजार रुपैयाँ र विद्यालयको आन्तरिक स्रोतबाट ४० हजार गरी २ लाख रुपैयाँ निकासा भएकोमा विद्यालयले पुरानो सिरिजका गुणस्तरहीन एसम्बल कम्प्युटर खरिद गरेको पाइएको छ ।

खरिद गरिएका चार थान कम्प्युटर सिस्टम र आठ थान मनिटर अहिले नचल्ने अवस्थामा छन् । ब्रान्डेड कम्प्युटर खरिद गर्नुपर्नेमा आर्थिक चलखेल गरी गुणस्तरहीन एसम्बल कम्प्युटर खरिद गरिएपछि कम्प्युटर नचल्ने भएको हो । कम्प्युटर खरिद गरिएको दुई वर्ष पुग्न लागेको भए पनि अहिलेसम्म कम्प्युटर शिक्षा पठनपाठन गराउने शिक्षकसमेत नियुक्ति गरिएको छैन ।

कमिसनकै लागि विद्यालयमा आवश्यक नपर्ने अडियो मिक्चर समेत महँगो मूल्य तिरेर खरिद गरिएको विद्यालयका एक शिक्षकले बताए । मक्चर लगायतका विद्यालयमा प्रयोगमा नआउने सामग्री खरिद गरी २ लाख १४ हजार रुपैयाँको बिल फस्र्योट गरेको स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया