नेइमारको गोलमा ब्राजिललाई सफलता

एजेन्सी, लन्डन । नेइमारको विवादास्पद पेनाल्टी गोलमा ब्राजिलले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वेमाथि १–० को जित हात पारेको छ । आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा दक्षिण अमेरिकी चिर प्रतिद्वन्द्वीबीच भएको भिडन्तमा ब्राजिलियन कप्तान नेइमारलाई उरुग्वेका खेलाडीले कडा निगरानीमा राखेका थिए ।

७६औं मिनेटमा नेइमारले गरेको पेनाल्टी गोल ब्राजिलको पक्षमा नतिजा पार्न पर्याप्त बन्यो । उरुग्वेका डिएगो लाजाल्टले ड्यानिलोलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । यससँगै ब्राजिलले उरुग्वेविरुद्ध लगातार १० जित पक्का गरेको छ । उरुग्वेले २००१ पछि पाँच पटकको विश्वविजेता ब्राजिललाई हराउन सकेको छैन ।

अर्को वर्ष कोपा अमेरिकाको आयोजना गर्ने तयारी गरिरहेको ब्राजिलले मंगलबार मिल्टन केइनेसमा हुने मैत्रीपूर्ण खेलमा क्यामरुनको सामना गर्नेछ । क्यामरुन विरुद्धको खेल ब्राजिलका लागि २०१८ को अन्तिम खेल हुनेछ । रूस विश्वकपको क्वार्टरफाइनलमा बेल्जियमलाई नतिजा सुम्पिएपछि ब्राजिलले त्यसपछि खेलिएका पाँच मैत्रीपूर्ण खेलमा भने सुखद नतिजा निकाल्दै आएको छ ।

‘यो दक्षिण अमेरिकी डर्बी थियो र हामी उरुग्वेको सम्मान गर्दछैं । उनीहरूसँग विश्वस्तरीय खेलाडी छन्,’ ब्राजिलका प्रशिक्षक टेटेले भने,’ हामी उनीहरूलाई नियन्त्रणमा राख्न सफल भयौँ ’ ‘हामीले नेइमारलाई स्वतन्त्र रूपमा खेल्न दियाै‌‌ । त्यो नै हाम्रो कमजोरी रह्यो,’ उरुग्वेका प्रशिक्षक ओस्कार ताबारेजले भने, ‘तर हाम्रो युवा टोलीले ब्राजिलसामु गतिलो चुनौती प्रस्तुत गर्न सफल भयो ।’ त्यस्तै अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हरायो ।

४५औं मिनेटमा रामिरो फ्युनस मोरले गरेको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । खेल सकिन ७ मिनेट बाँकी हुँदा मेक्सिकोका आइज्याक ब्रिज्युलाले गरेको आत्मघाती गोलबाट अर्जेन्टिनाले सहज जित पक्का गरेको थियो । यता शुक्रबारै भएको अर्को खेलमा कोस्टारिकाले चिलीलाई ३–२ ले निराश पारेको छ ।

३६औं मिनेटमा केन्डल वाट्सनले बललाई जाली चुमाउँदा कोस्टारिकाले अग्रता लिएको थियो । ६०औं मिनेटमा वाट्सनले व्यक्तिगत दोस्रो गोल गर्दै कोस्टारिकाको अग्रता दोब्बर पारेका थिए । त्यसको ४ मिनेटपछि रोनाल्ड माटारिटाले गोल गर्दै कोस्टारिकाको अग्रता ३–० मा पु¥याएका थिए । ७०औँ मिनेटमा सेवास्टियन भेगासले गरेको गोलमा चिलीले खेलमा फर्कने संकेत गरेको थियो । खेलको अन्तिम मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन । शुक्रबारै भएको अर्को मैत्रीपूर्ण खेलमा होन्डुरसले पेरूलाई १–० ले निराश पार्यो ।

प्रतिक्रिया