खसोग्जी हत्यारालाई अमेरिकाको नाकाबन्दी

वासिंगटन । अमेरिकाले साउदी पत्रकार जमाल खसोग्जीको हत्यामा संलग्न १७ जना साउदी अधिकारीहरूलाई निगरानीमा राखेको छ ।

उनीहरूलाई आर्थिक रुपमा पनि नाकाबन्दी गरिएको ब्लुमबर्गको अनलाइन संस्करणले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।
इस्तानबुलस्थित साउदी कन्सुलेटमा गएको अक्ुटोबर २ मा पत्रकार खसोग्जीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्ड दिनुपर्ने साउदी अरेबियाका अभियोजक शालान बिन राजी शालानकले जनाएको केही घण्टामा नै अमेरिकाले उक्त कदम चालेको हो ।

‘हामीले नाकाबन्दी गरेका साउदी अधिकारीहरू पत्रकार खसोग्जीको हत्यामा संलग्नहरू हुन्,’ अमेरिकी अधिकारीले भनेका छन्, ‘खसोग्जीको हत्यामा संलग्नहरूको बारेमा सबै कुरा बुझेर अमेरिका उनका परिवारका सदस्यलाई न्याय दिन प्रतिबद्ध छ ।’

उक्त प्रकरणमा साउदी अरेबियाबाट इस्तानबुल पुगेका साउदी अधिकारीहरूलाई अमेरिकाले ग्लोबल म्याग्नीटस्की एक्ट २०१६ अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ । जसमा अन्तर्रा्ष्ट्रिय स्थिरतामा अवरोध गर्ने विदेशीलाई कारवाही गर्न सक्ने व्यवस्था रहेको छ ।

अमेरिकाले नाकाबन्दीको सूचीमा पारेका साउदी अरेबियाका अधिकारीमा साउद अल कुहतानी समेत छन् जो साउदी राजकुमार मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार रहिसकेका व्यक्ति हुन् । उक्त हत्याकाण्डपछि उनलाई साउदी राजाले हटाएका थिए । नाकाबन्दीपछि उनीहरूले अब अमेरिकी आर्थिक प्रणालीमा पहुँच पाउने छैनन् र उनीहरूको सम्पति समेत फ्रिज हुनेछ ।

साउदी अरेबियाका अभियोजकले खसोग्जीको हत्या एक बरिष्ठ खुफिया अधिकारीको आदेशमा भएको र युवराज मोहम्मद बिन सलमानको कुनै हात नरहेको जनाएका छन् । ती खुफिया अधिकारीले खसोग्जीलाई साउदीअरेबिया ल्याउन आदेश दिएका थिए ।

अक्टोबर २ का दिन इस्तानबुलस्थित कन्सुलेट कार्यालयमा हातपात भएको समयमा खसोग्जीलाई ज्यान लिनेखालको इन्जेक्सन लगाइएको उनले जनाएका छन् । अभियोजकले ११ जनाविरुद्ध हत्याको मामिलामा मुद्धा दर्ता गरिएको र ५ जनालाई मृत्युदण्डको सजाय मागिएको बताएका छन् ।

हत्यामा संलग्नको आशंकामा अन्य १० जनाको पनि जाँचबुझ भइरहेको जनाइएको छ । हत्याको आदेश दिने व्यक्तिका बारेमा भने सरकारी प्रवक्ताले पत्रकार सम्मेलनमा जानकारी गराएनन् । अभियोजकका अनुसार खसोग्जीको हत्यापछि शरीरका भाग अलग अलग गरेर बाहिर ल्याइएको थियो ।

यो मामिलामा अहिले सम्म २१ जनालाई हिरासतमा लिइएको छ । साउदी राजकुमारका आलोचकहरूले भने यो घटना उनलाई थाहा नै नभएको भन्ने भनाइलाई विश्वास गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया